काठमाडौँ, १७ वैशाख । नेकपा माओवादी भूकम्प पीडितको उद्धार, राहत र सरसफाइमा जुटेको छ । भूकम्पपछि रोग फैलनसक्ने सम्भावनालाई मध्यनजर गर्दै बढी चाप हुने स्थानको सरसफाइ आजदेखि सुरु गरिएको हो ।
पार्टी महासचिव नेत्रविक्रम चन्दले काठमाडौँको नयाँबसपार्कमा आसपास क्षेत्रमा सरसफाइ अभियानको शुभारम्भ गर्दै भूकम्पपछि रोग फैलन नदिन स्वास्थ्य सचेतनासँगै सरसफाइलाई पार्टीले अभियानकै रुपमा अगाडि बढाएको बताउनुभयो ।
उहाँले भूकम्पपछि बढी चाप नयाँबसपार्कमा भएकाले आफूहरुले पहिलो सफाइ त्यस क्षेत्रबाट गरेको जानकारी दिँदै अभियानलाई काठमाडौँको अन्य ठाउँसँगै उपत्यका बाहिरका जिल्लामा पनि विस्तार गर्दै लगिने र पार्टी निकटका स्वास्थ्यकर्मीलाई भूकम्पपछि स्वास्थ्य समस्या उत्पन्न हुन नदिने र महामारी नियन्त्रण गर्न परिचालन गरिने बताउनुभयो ।
महासचिव चन्दले उद्दार कार्यमा जुटिरहेको सरकारी टोलीसँगै समन्वय गर्दै उद्धार तथा राहत सङ्कलनमा पार्टी अगाडि बढ्ने उल्लेख गर्दै उद्धारलाई पहिलो प्राथमिकता र त्यसपछि राहत र सरसफाइ रहेको विचार व्यक्त गर्नुभयो । पार्टीले विभिन्न स्रोत परिचालन गरी राहत सङ्कलन गर्ने र राहतलाई स्थानीय प्रशासनको रोहवरमा पीडितलाई वितरण गरिने बताइएको छ । रासस















प्रतिक्रिया