
-विश्वास खड्काथोकी
काठमाडौँ, १७ वैशाख । फेरि ठूलो भूकम्प आउने हल्लाले काठमाडौँबासी फेरि आतंकित भएका छन् ।

भूकम्प आउने भ्रामक हल्लाले काठमाडौँको बागवजार र अनामनगर क्षेत्रका स्थानीयहरु घरबाहिर नस्किएका छन् । आज ५ देखि ७ बजेसम्ममा भूकम्प आउँछ भन्दै बगवजारका सयौं मानिसहरु सडकमा निस्किएका हुन् । उनीहरु चारबजे पछि नै सडकमा निस्कन शुरु गरेका थिए । बागबजारमा घर हुनेहरु पद्म कन्या क्याम्पसको कम्पाउण्डमा जम्मा थालेका छन् । कतिपयले त ओढ्ने, ओछ्याउने कपडा समेत लिएर निस्कन थालेका छन् । सडकमा भेटिएका बागबजारका सुमित कार्कीले भने, ‘टोलबासीले भूकम्प आउँछ भनेपछि बाहिर निस्केको हो, ५ बजे ७ बजे भित्रमा ठूलो भूकम्प आउँछ रे ।’ कतिपयले बीबीसीले भूकम्प आउँछ भनेको रहेछ भन्दै थिए ।
बागबजारकै सन्तकुमारी कार्की पनि सडकमा कार्पेट ओच्छाएर बसेकी थिइन । उनले भनिन्, ‘सबैले आउँछ, आउँछ भनेपछि बाहिर निस्केकी हुँ ।’ उनीहरु हल्लै हल्लाले बाहिर निस्किएका हुन् । घर बाहिर निस्केका कसैलाई पनि कुन आधिकारिक निकायले भूकम्प आउँछ भनेको हो भन्ने थाहा छैन । बाहिर निस्केका प्रायले बीबीसी लगायतका विदेशी मिडियाको नाम लिएका छन् ।
उपत्यका बाहिरको पर्वत जिल्लामा पनि ठूलो भूकम्प आउँछ भन्ने हल्लाले त्रास सिर्जना भएको गृह जिल्ला पर्वत पुगेका गायक यम क्षेत्रीले टेलिफोनमा बताएका छन् ।
विज्ञहरुले भने अब ठूलो भूकम्प नआउने भन्दै हल्लाको पछि नलाग्न यसअघि नै आग्रह गरिसकेका छन् । भूकम्प आउने सम्भावना न्यून रहेकाले सबैलाई नचर्किएको घरमा ढुक्कसँग रहन सल्लाह दिएका छन् । विज्ञहरुका अनुसार अहिलेसम्म संसारमा भुकम्प सम्बन्धी पूर्वाअनुमान गर्ने यन्त्र बनेको छैन । भूकम्पको डर हट्दै गएको बेला फेरि भ्रामक हल्ला फैलाएपछि सर्वसाधारण आतंकित बनेका छन् ।
















प्रतिक्रिया