गौशाला, १७ वैशाख । महोत्तरीको जलेश्वर–मटिहानी सडकखण्डमा आज दिउँसो एक यात्रुबाहक बस दुर्घटना हुँदा ५५ जना यात्रु घाइते भएका छन् ।
घाइते हुनेमा महोत्तरी, धनुषा, सिरहा, सप्तरी र भारत विहारका महिला, पुरुष, युवायुवती र बालबालिका रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
जलेश्वरबाट आज दिउँसो १२ः१५ बजे मटिहानीका लागि गुडेको ज १ ख ५१७ नम्बरको बजरङ्ग ट्राभल्स नामक यात्रुबाहक बस जलेश्वर नगरपालिका–५ स्थित भार्गवसर पोखरी नजिकै दुर्घटनाग्रस्त हुँदा ५५ जना यात्रु घाइते भएको प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताउनुभएको छ ।
साठीभन्दा बढी यात्रु बोकेर जलेश्वरबाट मटिहानी गइरहेको सो बस विपरीत दिशाबाट आइरहेको स्काभेटर गाडीलाई साइड दिन खोज्दा अनियन्त्रित भई सडकबाट पाँच फिट तल खेतमा दुर्घटना भई पल्टिन जाँदा ५५ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेको उपचार जिल्ला अस्पताल जलेश्वरमा भइरहेको छ भने घाइतेमध्ये भारत विहारको मधवापुर बस्ने हमिदा खातुन गम्भीर घाइते भई थप उपचारका लागि अञ्चल अस्पताल जनकपुर लगिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
यता बसका चालक बस दुर्घटना हुने बित्तिकै गाडीबाट फरार भएका छन् । रासस















प्रतिक्रिया