धनगढी, १७ वैशाख । हामी दिदीभाई (हिमांशी जोशी/अनुभव जोशी) पढ्नका लागि काठमाडौंको जोरपाटी, बौद्धमा बस्छौं । शनिवार घर फर्कने तयारीमा थियौं । कलेजबाट पनि बिदा लिइसकेका थियौं । खानासम्म पनि खाएका थिएनौ । माछा पालिरहेको भाँडामा पानी परिवर्तन गर्दै थियौँ । अकस्मात भुई हल्लियो । भान्सामा भाडाहरू खस्न थाले । हामी आत्तिएर, साह्रो साह्रो चिच्चायौँ ।
बल्ल तल्ल बाहिर निस्कीयौं । छरछिमेकीहरु पनि आत्तिदै बाहिर निस्कीरहेका थिए । हाम्रो घरधनी शेर्पा आमा, बुवा भने भित्रै हुनुहुन्थ्यो । म (हिमांशु) उहाँहरूलाई बाहिर ल्याउन भित्र पसे । उहाँहरूलाई भने आफ्नो भन्दा पनि सानी नातिनीको माया रहेछ । नातिनीलाई च्यापेर टेबुलमुनी बसी मन्त्र जप्दै हुनुहुन्थ्यो । मैले फटाफट उहाहरुलाई बाहिर ल्याए ।
एकैछिनमा पुरै जोरपाटी वस्तीनै बाहिर निस्क्यो । नयाँवस्ती तिरको एउटा घर ढल्यो । मन्दिरको पर्खाल भत्कियो । नजिकैको जमिनमा चिरा प¥यो । चोकमा फलफूल पसल थियो, त्यो पनि ढलेछ । जमिन छिन छिनमै कम्पन हुँदा हाम्रो शरीरमा डरले काँडा नै निस्केको थियो । एक दम्पत्ति सिलिपिङ ड्रेस र नाङ्गै खुट्टासँग हेलमेट विना मोटरसाइकल चलाएर आफ्नो बच्चा खोज्दै थिए ।
केही बेरमै यहाँका पूर्व सभासद चक्र ठकुरीको भूकम्पमा परी निधन भएको दुःखद खबर सुन्यौँ । सुन्धारा, बसन्तपुरमा पसल गर्नेहरू कराउँदै आए । उनीहरु धरहरा खस्यो, बसन्तपुर दरबार ढल्यो भन्दै अत्तालिएका थिए । हामीले पत्याउन सकेनौं ।
भोकै भएकाले पानी, चाउचाउ किनेर खान थाल्यौँ । हामी करिब तीनसय जति एकै ठाउँमा जम्म भयौँ । भुईमै बस्यौँ । केहीले घरबाट ओढ्ने, ओछ्याउने कपडा ओसार्न थाले । रेडियोमा समाचार सुन्न खोजेको, शोक धुनमात्र घन्कीरहेको थियो । हामी पनि शोकाकुल भयौँ ।
काठमाडौंमा एकछिन पनि मन लागिरहेको थिएन । सोहि दिन धनगढीको बस टिकट थियो । ट्याक्सीमा बसपार्क पुग्योँ । तर कुनै पनि सवारी साधन चलिरहेको थिएन । बाटोभरी घर ढलेका थिए । बल्ल तल्ल बसपार्क पुगेको त, एक प्रहरीले आज बस चल्दैन भनेर भने । टिकट काउन्टरमा पैसा फिर्ता मागेको तीन हजार दिनुपर्नेमा एक हजार पाँच सय मात्र फिर्ता दियो ।
गोंगबु बसपार्क कोलाहल र रुवावासी थियो । कोहि घाईतेलाई लिएर अस्पताल जाँदै थिए । एम्बुलेन्सको मात्र आवाज सुनिन्थ्यो । कतिको हात खुट्टा भाँचिएको थियो । हात च्यापिएका एक युवाले गुहार माग्दै थिए, ‘बरु मेरो हात चाहिन्न, मलाई बचाउ’ । उनलाई निकाल्दा उनको हात त्यहि चोइटियो ।
दिन अध्यारो भएको थियो । मन उस्तै आत्तिएको थियो । विजुली पनि थिएन । हामी चौरमै पल्टियौँ । हामीसँगै तीनसय जना जति पनि चौरमै थिए । भोली विहान भोक लागेर भान्समा खाना पकाउन के लागेका थियौ । भुकम्प आइहाल्यो । पछि काँचै भात खायौँ ।
भोलिपल्ट बल्ल तल्ल गाडि पायौँ । तर पाँचसय रुपैयाँ बढी भाडा तिर्नुपर्यो । थानकोट मुग्लिन सडक खण्डमा केही ठाउँमा पहिरो गएको थियो । बस, ट्रकका स्टाफहरू आफैंले बाटो सफा गर्दै थिए । राजमार्गमा काठमाडौबाट फर्किएका सवारी साधन मात्रै थिए । ट्याक्सीहरू फाट्ट फुट्ट मात्र देखिन्थे । नारायणघाट आइपुगेपछि बल्ल ढुक्क भयौँ ।
(काठमाडौं जोरपाटीस्थित स्पुता कलेजमा विएन पहिलो वर्षमा अध्ययनरत हिमांशु र एसएलसी दिएर व्रिज कोर्ष पढ्न काठमाडौ गएका अनुभवसंग पत्रकार प्रकाशविक्रम शाहले गरेको कुराकानीमा आधारित । उनीहरू धनगढी–५, हसनपुरका स्थायी बासिन्दा हुन्)
















प्रतिक्रिया