मेलम्ची (सिन्धुपाल्चोक), १७ वैशाख । भूकम्प आएको पाँच दिन बित्दा समेत सिन्धुपाल्चोकको भोटेचौर गाविसमा उद्धारका लागि नेपाली सेना र प्रहरीको टोली पुग्न सकेको छैन । यहाँ स्थानीय आफैंले आजसम्म ३७ जनाको शव निकालेका छन् ।
एक हजार ८० घरधुरी रहेको भोटेचौरमा लगभग सबै घर ध्वस्त भएको स्थानीय बासिन्दाले बताए । “कुनै पनि घरमा बास वस्न सकिने अवस्था छैन,” स्थानीय वासिन्दा भीमसेन चौँलागाइले भन्नुभयो । सेना र प्रहरी टोली उद्धार तथा राहत वितरणका लागि आजसम्म नआएको उहाँले बताउनुभयो ।
भोटेचौरमा स्थानीय बासिन्दा आफैंले शव निकाल्ने कार्य गर्दैआएका छन् । चौँलागाइका अनुसार आज पनि यहाँको निबु गाउँबाट दुई वटा शव निकालिएको छ । करिब सात हजार जनसङ्ख्या भएको यो गाविसमा तीन सयभन्दा बढी मानिस भूकम्पमा परेर घाइते भएका छन् । घाइतेको स्थानीय स्वास्थ्य चौकी र राजधानीका विभन्न अस्पतालमा उपचार भइरहेको स्थानीय बासिन्दाले बताए । भोटेचौर सदरमुकाम चौतारादेखि पश्चिमतर्फको काठमाडौँसँग जोडिएको गाविस हो । रासस















प्रतिक्रिया