काठमाडौं, १७ वैशाख । नेपाल निर्माण व्यवसायी महासंघले महाभूकम्प पीडितहरुको उद्धार कार्य तथा राहत वितरण कार्यलाई तीव्र पारेको छ ।
यसै क्रममा विहिवार निर्माण व्यवसायी संघ बर्दियाबाट प्राप्त राहत सामाग्री महाभूकम्पबाट अति प्रभावित भक्तपुर जिल्लामा वितरण गरिएको छ । चाँगुनारायण नगरपालिका-९, पोख्रेल गाँउमै पुगेर महासंघका पदाधिकारीहरुले राहत सामग्री वितरण गरेका हुन् ।
पीडितहरुलाई ३१ थान पाल, दुई सय केजी चिउरा, चालिस बाक्सा चाउचाउ, र १२ सय बोतल पानी वितरण गरिएको हो । अहिले सम्म राहत सामग्री लिएर कोही पनि नपुगेको उक्त गाउँमा महासंघका महासचिव रामशरण देउजा, उपमहासचिव विष्णु बुढाथोकी, निर्माण व्यवसायी संघ भक्तपुरका उपाध्यक्ष राजकुमार बस्ताकोटी, महासचिव विजय देउजा, जिल्ला निर्माण व्यवसायी संघ बर्दियाका सदस्य सुसन पाठक सहितको टोली पुगेको हो ।
यसैबीच उद्धार कार्यलाई चुस्त बनाउन देशभरका निर्माण व्यवसायिका डोजर, ब्याकहोल लोडर, एक्साभेटर, ट्रिपर र ट्रक गरी ७७ वटा निजी साधन प्रयोग भइरहेको महासंघले जनाएको छ ।















प्रतिक्रिया