४ कार्तिक २०८३, बुधबार

भूकम्प पीडितकालागि गुल्मीका सहयोग संकलन सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– अनिल खत्री
गुल्मी, १७ वैशाख । शनिवारको महाभूकम्पबाट पीडित गुल्मीका सर्वसाधारणको उद्धारका लागि प्रमुख जिल्ला अधिकारीसहितको टोलीले आजदेखि सहयोगको हात फैलाउँदै हिड्न सुरु गरेको छ ।

गुल्मी उद्योग वाणिज्य संघको संयोजनमा यहाँका सबै राजनीतिक दल, सामाजिक संघ संस्था, होटल व्यवसायी, यातयात व्यवसायी महिला समुह र स्थानीय पत्रकारसहित गठित राहत संकलन समिति गुल्मीले आज पहिलो दिन सदरमुकाम तम्घासबाट सहयोग संकलन सुरु गरेको हो ।

‘गुल्मीवासी भूकम्प पीडितहरुलाई गच्छे अनुसारको सहयोग गरौं’ भन्ने नाराका साथ तम्घासको लाँकुरी मञ्चबाट सुरु गरिएको राहत संकलन कार्यको आज पहिलो दिन ३ लाख २४ हजार १ सय ६४ रुपैयाँ सहयोग संकलन भएको समितिका फोकलपर्सन जिल्ला विकास समितका योजना अधिकृत भक्तीराम मरासनीले जानकारी दिए ।

उनका अनुसार शाईन रेशुङ्गा डेभलभमेण्ट बिकास बैंकले गुल्मीका भूकम्प पीडितहरुलाई २ लाख ५० हजार रुपैयाँ प्रदान गरेर बुधबार नै उक्त बैंकमा खाता खोलेका थिए । त्यस बाहेक कर्मचारी मिलन केन्द्र गुल्मीले पनि थप २५ हजार रुपैयाँ भूकम्प पीडितलाई सहयोग गरेको छ ।

जिल्ला विकास समितिका कर्मचारीहरुले पनि २० हजार रुपैयाँ सहयोग गरेका छन् । जिल्ला हुलाक कार्यालयका कर्मचारीहरुले पनि १० हजार सहयोग गरेका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार यो राहत संकलन कार्यलाई जिल्ला व्यापी बनाउने योजना छ ।

गुल्मीमा पाँच सयभन्दा बढी घर पुर्ण रुपमा क्षति भएको र हजारौंको संख्यामा आंशिक क्षति भएको पछिल्लो विवरणले देखाएको छ । घरबाट विस्थापित सयौं जनता त्रिपालको अभावमा अहिले सम्म पनि खुल्ला आकाशमुनी बस्न बाध्य छन् ।

राहत संकलनमा यहाँका प्राय सबै सरकारी कार्यालयका प्रमुख, प्रत्येक राजनीतिक दलका प्रमुख प्रतिनिधी, गुल्मी उद्योग वाणिज्य संघ र महिला समुह र स्थानीय पत्रकारहरु जुटेका थिए ।