काठमाडौँ, १६ वैशाख । विनासकारी भूकम्पमा परी पुरिएका मानिसका उद्धारमा नेपाली सेना र विदेशबाट आएका उद्धार टोलीले हालसम्म १३ जनाको जीवितै उद्धार गरेको छ ।
गत शनिबार आएको भूकम्पबाट ठूलो धनजनको क्षति भएपछि नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीले तत्कालैबाट उद्धार प्रारम्भ गरेको थियो भने मुलकका ३० भन्दा बढी जिल्लामा एकैसाथ ठूलो विपत्ति आइपरेपछि सरकारले अन्तर्राष्ट्रिय क्षेत्रमा सहयोगका लागि आह्वान गरेको थियो । सो आह्वानअनुसार छिमेकी भारत, चीनलगायत अन्य विदेशी मुलुकबाट उपकरणसहित उद्धार टोली आएका छन् ।
गृह मन्त्रालयले आज दिएको जानकारीअनुसार स्वदेशी र विदेशी सुरक्षाकर्मीले आफ्नो जीवनको समेत प्रर्वाह नगरी जोखिम मोलेर हालसम्म १३ जनाको जीवितै उद्धार गर्ने कार्यमा सफलता पाएका हुन् ।
काठमाडौँकै विभिन्न स्थानमा भत्किएका भवन र संरचनामा डोजर, स्काभेटर, ‘ड्रिल’, डिजिटल क्यामेरा, ग्याँसलगायतको सामान प्रयोग गरी जीवितै उद्धार तथा मृतकको शव निकाल्ने काम भइरहेको छ । उद्धारका लागि सरकारको आह्वानअनुसार ३२ वटा अन्तर्राष्ट्रिय टोली नेपाल आएका छन् ।
गोगबुँस्थित नयाँ बसपार्कको दुई नम्बर गेट नजिक मित्रनगरको सयपत्री गेष्ट हाउसमा भत्किएको घरमा बुधबार राति १०ः१५ बजे सशस्त्र प्रहरी बलको ‘सर्च एण्ड रेस्क्यु टोली’ ले एक जनाको जीवितै उद्धार गरेको सशस्त्र प्रहरी नायब निरीक्षक अजय छतकुलीले जानकारी दिनुभयो ।
टोलीले सो भवनको तेस्रो तलाबाट घरभित्र पसेर भुईंको ढलान काटी तल ‘ग्राउण्ड फ्लोर’ मा पुगेर जीवितै उद्धार गरेको थियो । त्यस ठाउँमा चार जना व्यक्ति जीवितै रहेको हुनसक्ने अनुमान गरिएको छ । रासस















प्रतिक्रिया