
– सन्दिप भट्ट
चितवन, १६ वैशाख । नियम विपरीत भाडा असुल गर्ने सात वटा सवारी साधनलाई प्रहरीले कारबाही गरेको छ । बुधबार बिहान चितवनको भरतपुरस्थित आँपटारीमा गरिएको अनुगमनका क्रममा ती सवारीहरुले बढी भाडा असुलेको पाइएको कारण कारवाही गरिएको बताइएको हो ।
काठमाडौंबाट चितवन भएर बाहिरी जिल्लाहरुमा जाने सवारी साधनहरुले नियम विपरीत भाडा असुलेको भन्ने गुनासो आएपछि चितवनका राजनीतिक दलका युवाहरुले नियम विपरीत भाडा असुल्ने विरुद्ध अनुगमन थालेको छ ।
नेपाल तरुण दल, युवा संघ नेपाल, वाइसिएल नेपाल लगायत चितवनमा क्रियाशिल युवा संगठनहरुले चितवनको आँपटारीमा अनुगमन थालेका हुन् । बढी भाडा लिने सवारी साधनलाई बढी लिएको भाडा यात्रुलाई फिर्ता गर्न भन्ने र अटेरी गरेमा जिल्ला प्रहरीमा बुझाउने बताइएको छ ।
बुधबार बिहानैदेखि गरिएको चेकजाँचमा बढी भाडा लिए नलिएको यात्रुहरुसँग सोधपुछ गरी मनपरी भाडा असुल्नेलाई कारवाहीको दायरामा ल्याउन पहल थालेका छन् ।
विपदको समयमा यात्रुबाट मनपरी भाडा उठाउनेलाई आँपटारीमा खटिएको ट्राफिक प्रहरी मार्फत कारवाही थालेका छन् । सवारी साधनले चर्को भाडा असुलेको यात्रुहरुबाट व्यापक गुनासो आएपछि युवाहरुलाई परिचालन गरेर अनुगमन थालिएको नेकपा एमाले चितवनका अध्यक्ष जगन्नाथ थपलियाले बताए ।
देश पीडामा भएको बेलामा केहि मुठ्ठी भरका व्यक्तिहरुले मौका छोपेको भन्दै उनीहरुलाई कडा कारवाही गर्नुपर्ने थपलियाले बताए । कारवाहीमा परेका सवारी साधनबाट यात्रुहरुलाई भाडा फिर्ता गराइएको र यात्रुहरुलाई अर्को गाडीमा गन्तव्य सम्म पुग्ने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।
अनेरास्ववियु चितवनका संयोजक देव प्रकाश पाठकले त्रसित वातावरण, मानसिक तनावको मौका छापेर यात्रुबाट बढी भाडा लिनेहरुलाई कारवाही गर्न युवा संगठनहरुले अभियान नै चलाएको बताए । वाईसीयल चितवनका अध्यक्ष इश्वरी सापकोटा सुमनले बढी भाडा लिइएको पाउनासाथ तत्काल यात्रुलाई बढी भाडा फिर्ता गराइएको जानकारी दिए ।
विप्लव माओवादी विद्यार्थी संगठनका जिल्ला अध्यक्ष सरोज भण्डारीले भुकम्प प्रभावित क्षेत्रबाट आआफ्नो घर जान आतुर सर्वसाधरणबाट चर्काे भाडादर लिने चालक तथा सहचालकहरुलाई जिल्ला प्रहरी कार्यालय चितवनमा पठाउन छड्के चेकजाच गरिएको बताए ।
अधिकांश यात्रुले बढी रकम तिरेपनि कम रकम उल्लेख गरिएको टिकट लिएको, भाडादरमा एकरुपता नभएको, बस सञ्चालकले बढी भाडा नलिएको भन्न आग्रह गरेको यात्रुहरुले गुनासो गरेका छन् । बढी भाडा लिने सवारीसाधनहरुलाई कारवाही गर्न सरकारी संयन्त्र समेत परिचालन गर्नुपर्ने युवा संगठनहरुको माग रहेको छ । आधा दर्जन सवारीसाधनलाई कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय लगिएको छ ।


















प्रतिक्रिया