काठमाडौँ, १६ वैशाख । जन्माउने आमा भन्दा सन्तानका लागि ठूलो अरु नै के होला र ? भूकम्पले घरमै किचेर आमाको ज्यान जाँदा पनि सिन्धुपाल्चोकका एक नेता भूकम्पपीडित जनताका उद्दारमा खटिएका हुन् ।
उनी हुन्, नेकपा एमालेका बागमती इन्चार्ज समेत रहेका अरुण नेपाल । उनकी आमा तुलसी नेपालको शनिबारको भूकम्पले ज्यान लिएको छ । शनिबार मध्यदिन भूकम्प आएपछि घरबाट बाहिर निस्कँदा निस्कँदै भूकम्पले तुलसीको ज्यान लिएको थियो । सिन्धुपाल्चोकको पाँग्रेटार गाविस वडा नम्बर ७ मा नेता नेपालका दुईवटै घर ध्वष्त भएका छन् । भाइ र बुहारी भने घरबाहिर निस्कन भ्याएकाले बाँचेका छन् ।
आमा गुमाएको वियोग त छँदैछ, तर वरपरका छिमेकी, आफन्त र कार्यकर्ताको समेत बिचल्ली भएपछि नेता नेपालले बुधबार पाँच दिनमै आमाको काजकिरिया सकेका छन् । गत भदौमा उनले बाबुलाई समेत गुमाएका थिए । त्यतिबेला ११ दिननै काजकिरिया गरेका थिए ।
‘आमाको निधनमा १३ दिनसम्म किरिया बस्न सक्ने अवस्था रहेन । यहाँ असाध्यै ठूलो क्षति भएको छ, म त स्थानीय बासिन्दा, यति ठूलो पीडामा उद्दार कार्य लाग्नुपर्ने, त्यसैले पाँच दिनमै काजकिरिया सक्ने निष्कर्ष निकालेँ,’ नेता नेपालले दैनिक नेपालसँग टेलिफोनमा भने, ‘९५ प्रतिशत घर ध्वष्त भएको छ । अहिले पनि कति मानवीय क्षति भयो, यकिन गर्न मुश्किल छ । चार भन्दा बढी मानवीय क्षति भएको अनुमान गरिएको छ । तातोपानी क्षेत्रमा अझै मानिसहरुलाई उद्दार गर्न सकिएको छैन । सडक सबै पहिरोले ध्वष्त पारेको छ ।’
नेता नेपालका अनुसार, पाँच दिनपछि बल्ल बुधबारबाट सिन्धुपाल्चोकमा टेलिफोन चलेको छ । सरकारले जिल्ला–जिल्लामा फोकल सचिवको व्यवस्था गरेकाले उनीहरुकै सम्पर्कमा बसेर प्रहरी, सेना र स्थानीय प्रशासन, गाविस सचिवलाई परिचालन गर्ने काम गरेको नेता नेपालले जानकारी दिए । उनका अनुसार, राहतका निमित्त जिल्लाका तर्फबाट सार्वजनिक आह्वान समेत गरिएको छ ।
पाँच दिनमा बुधबार हतार हतार काजकिरिया सकेर नेता नेपालकै अगुवाईमा बुधबार सिन्धुपाल्चोकको खाडीचौर अब कसरी अगाडि बढ्ने भन्ने विषयमा बृहत भेलाको आयोजना गरिएको छ । ‘जिल्लाको प्रशासनसँग प्रत्यक्ष सम्पर्कमा छौँ । विशेषगरि पालको आवश्यकता छ, पानी आइरहेको छ, सबैको घर भत्किएको छ । सकेसम्म धेरै त्रिपाल पठाइदिन राज्यका मानिसहरुलाई भनिरहेका छौँ ।’ नेता नेपालले भने । राहत र उद्दारका लागि आजबाट अहोरात्र खट्ने उनले बताए ।
युवा नेता नेपालले गत संविधानसभा निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट ३२ मतले मात्र चुनाव हारेका थिए ।
















प्रतिक्रिया