
– नरेश केसी
भैरहवा, १६ वैशाख । गोरखा, लमजुङ, सिन्धुपाल्चोक, रसुवा, धादिङ काठमाडौं, भक्तपुर लगायतका जिल्लामा महाभूकम्पले पु¥याएको मानवीय क्षतिको चीरशान्तिको कामना गर्दै बचेका परिवारलाई राहत पुराउने उद्देश्यले रुपन्दहीमा पनि विभिन्न संघसंस्थाले खाद्यान्न, लत्ता कपडा तथा नगद संकलन गरिरहेका छन् ।
रुपन्देहीमा पश्चिम नेपाल बस व्यवसायी समिति, सिदार्थ यातायात, हिसान, जेसीआई सिद्धार्थ नेपाल, सिद्धार्थ लेडी जेसीज, लायन्स क्लब अफ सिद्धार्थनगर, लायन्स क्लब अफ भैरहवा, सिद्धार्थनगर उद्योग वाणिज्य संघ, उद्योग व्यापार संगठन रुपन्देही, साई युथ बुद्धचौंक, औषधि व्यवसायी संघ, एसओएस बालग्राम भैरहवा, लियो क्लब अफ सिद्धार्थनगर लगायत दर्जनौ संघसंस्थाले लाखौ मूल्य बराबरको खाद्यान्न, लत्ता कपडा तथा त्रिपालहरु संकलन गरेका छन् ।
ती संघसंस्थाले नगद रकम पनि संकलन गरेको बुझिएको छ । संस्थाहरु मात्रै नभएर निजी स्कुलहरु, सामुदायिक विद्यालयहरु पनि सहयोग रकम उठाउन बजार बजार हिँडेको देखिन्छ । महाभूकम्प पीडितको सहयोगार्थ राहत रकम तथा सामग्री संकलन गर्ने भन्दै अहिले रुपन्देहीका बजारहरुमा माइकिङ्ग सहित मान्छेहरुको झुण्ड हिँडेको देख्न सकिन्छ ।
रुपन्देहीमा राहत संकलन गर्नेहरुले गोरखा, लमजुङ र धादिङका पीडितहरुलाई लक्षित गरी राहत संकलन गरेको बुझिएको छ । सो क्षेत्रका मानिसहरु यस क्षेत्रमा बसाई सराइका क्रममा रहेको र सरकार र अन्तर्राष्ट्रिय समुदायको दृष्टी पहाडी जिल्लामा कम परेको विश्लेषण गर्दै त्यसतर्फ लक्षित गरिएको राहत संकलनमा खटिएको सामाजिक संस्था जेसीआई सिद्धार्थका अध्यक्ष संगम न्यौपानेले बताए ।
राहत सामग्री र नगद कतिले जिल्ला प्रशासन मार्फत सरकारलाई पठाएका छन् भने कतिले आफै भुकम्प प्रभावीत क्षेत्रमै पुगी राहत वितरण गरिरहेका छन् । आज बुधवार देखी रुपन्देहीका विभिन्न संघसंस्थाहरु राहत रकम लिएर भुकम्प प्रभावित क्षेत्रमा गएका छन् । सिद्धार्थनगर उद्योग वाणिज्य संघको टोली गोरखातर्फ लागेको संघका सचिव नेत्रप्रसाद आचार्यले जनाएका छन् ।
यसैगरी लुम्बिनी राउण्ड टेबलले ४ लाख बराबरको राहत सामग्री, उद्योग व्यापार संगठनले ७० हजार, औषधी व्यवसायी संघ लुम्बिनीले १ लाख भूकम्प पीडितहरुलाई राहत स्वरुप पठाई सकेका छन् ।
यसैगरी भारत स्थित उत्तर प्रदेश सरकारले ५ वटा ट्रक भरेर राहत सामग्री बेलहिया भन्सार नाका हुदैं पठाएको सामग्री आज भैरहवा आईपुगेको छ । यसैगरी युसीएमएस भैरहवा, नमुना एकीकृत विकास परिषद् र आम्दाले चिकित्सकहरुको एक टोली भुकम्प प्रभावित क्षेत्र गोरखा पठाएको छ ।
















प्रतिक्रिया