मेलम्ची, १६ वैशाख । सिन्धुपाल्चोक जिल्लामा मृत्यु हुनेको आधिकारिक सङ्ख्या एकहजार पाँचसय पुगिसकेको र यो सङ्ख्या तीन हजारभन्दा बढी पुग्नसक्ने अनुमान गरिएको छ ।
जिल्लामा एकहजार ६०० भन्दा बढी घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपकराज खरेलले सो कुरा बताउनुभएको हो । उहाँका अनुसार चीनको सिमाना जोडिएको तातोपानी क्षेत्र अझै सम्पर्कमा आउन सकेको छैन भने यसैगरी जिल्लाको उत्तरी हिमाली भेगका कैयौँ गाउँहरुको एकीन अवस्थाको जानकारी आउन सकेको छैन ।
जिल्लाको बरुवा, भोताङ, गुम्बा, गोल्चेको अवस्था अहिलेसम्म जानकारीमा आउन सकेको छैन । भर्खरै मात्र नेपाली सेनाको हेलिकोप्टरबाट दालमोठ, चिउरा, औषधि, टेन्टलगायतका राहत सामग्री पुगेको छ । राहत सामग्री वितरण गर्नका लागि सकभर गाविसमा जिम्मा लगाउने, सम्भव नभए जहाँ स्थानीयवासी बसेका छन् त्यहीँ लगिदिने काम भइरहेको खरेलले बताउनुभयो ।
अब तत्काल केही प्रहरीलाई राहत सामग्री बाँड्न लगाइएको र केही प्रहरीलाई भने उद्धारमा खटाइएको छ । जिल्लाको बाह्रबिसे क्षेत्रमा पनि केही मात्रामा राहत सामग्री पुगेको र अव वितरण गरिने बाह्रबिसे इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक मञ्जिल मुकारुङले बताउनुभयो । रासस















प्रतिक्रिया