४ कार्तिक २०८३, बुधबार

धादिङ र लमजुङमा उद्धार जारी, राहत वितरण हुन सकेन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Lamjung Ghaite 7काठमाडौँ, १६ वैशाख । भूकम्पले प्रभावित पारेको धादिङ र लमजुङमा हालसम्म कुनै पनि राहत तथा उद्धारको काम सुरु हुन सकेको छैन ।

मौसमी प्रतिकूलता र उद्धार सामग्रीको अभावमा ती जिल्लाका बढी प्रभावित क्षेत्रमा सरकारी उपस्थिति प्रभावकारी हुन नसकेको बताइएको छ ।

धादिङको उत्तरी क्षेत्रका अधिकांश घर ध्वस्त भएका छन् भने हालसम्म प्राप्त जानकारीअनुसार मानवीय क्षति ३६१ पुगेको छ भने ५०० भन्दा बढी सर्वसाधारण घाइते भएका छन् ।

सदरमुकाम रहेको नीलकण्ठ नगरपालिका र आसपासका क्षेत्रमा समेत राहत वितरण प्रभावकारी हुन सकेको छैन । धादिङका हाम्रा समाचारदाता सीतारामप्रसाद वर्माका अनुसार घाइतेहरुको उद्धार कार्य जारी रहेका कारण राहत तथा पुनःस्थापनाको कार्य अगाडि बढ्न सकेको छैन । सदरमुकामस्थित वर्माको घर पनि भूकम्पमा परी पूर्णरुपमा क्षति भएको छ ।

उत्तरी क्षेत्र सदरमुकामबाट सात दिन पैदल यात्राको दूरीमा रहेका कारण तथ्याङ्क सङ्कलनमा नै समस्या भएको स्थानीय प्रशासनले जानकारी दिएको छ । जिल्लाका अधिकांश घर तथा टहरा भत्केकाले स्थानीय खुला स्थानमा बस्न बाध्य छन् । त्रिपालको व्यवस्था नहुँदा जनजीवन प्रभावित बनेको फूलखर्कका शिक्षक दामोदर भट्टले राससलाई जानकारी दिनुभयो ।

पूmलखर्क, रि, दार्खा, सेर्तुङ, लापा, तिप्लिङ, खनियावासलगायतका उत्तरी गाविसमा हालसम्म कुनै पनि सरकारी निकाय नपुगेको शिक्षक भट्टको भनाइ छ । घाइतेको उद्धारका लागि मङ्गलबार उत्तरी क्षेत्रमा भारतीय हेलिकप्टर उडाइएको भए पनि पूर्णरुपमा उद्धार हुन सकेको छैन । शनिबार स्थानीय चर्चमा ठूलो सङ्ख्यामा स्थानीय भेला भएका कारण हताहतीको सङ्ख्या यकीन हुन सकेको छैन ।

केन्द्रबाट मागअनुसारको राहत सामग्री प्राप्त नभएको भन्दै वितरणमा समस्या भएको बताइएको छ ।

उता भूकम्पबाट प्रभावित लमजुङमा पनि हालसम्म राहत तथा उद्धारले गति लिन सकेको छैन । जिल्लाको पूर्वी भेगका विचौर, इलमपोखरी, दूधपोखरी, गौँडा, कोल्की, प्यारजुङ, धमिलीकुवा, भोर्लेटारलगायतका गाविस बढी क्षतिग्रस्त भएका छन् ।

यहाँका प्रायः सबैजसो घरहरु पूर्णरुपमा क्षति भएका छन् । मानवीय क्षति हालसम्म चार जनामात्रै भएको भनिए पनि प्रभावित क्षेत्रमा सरकारी टोली पुग्न नसक्दा क्षतिको यकीन विवरण प्राप्त हुन सकेको छैन ।

प्रभावित गाविसमा अधिकांश घरपालुवा पशुहरु मरेकाले दुर्गन्ध फैलिने डर बढेको छ । घरमा भएको खाद्यान्न र अन्नपातसमेत नष्ट हुँदा भोकमरीको समस्या बढ्नसक्ने विचौर गाविसका समाजसेवी चेतनाथ अधिकारीले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाका अनुसार राहत वितरणको तयारी गरिएको र आजै विचौर र इलमपोखरीमा हेलिकप्टरबाट त्रिपाल, खाद्यान्न उपलब्ध गराइनेछ । जिल्लाले केन्द्रमा माग गरी पठाएअनुसारको उद्धार सामग्री प्राप्त नभएका कारण वितरणमा समस्या भएको हाम्रा समाचारदाता मिलन शर्मा दर्नाइले जानकारी दिनुभयो ।

घर भत्किएका कारण स्थानीय कष्टकर रुपमा रात कटाउन बाध्य छन् । त्रिपालको समेत व्यवस्था नहुँदा स्थानीयले तत्काल सोको व्यवस्था गर्न स्थानीय प्रशासनसँग माग गरेका छन् । हालसम्म जिल्लामा १५० मात्रै त्रिपाल उपलब्ध भएको छ ।

स्थानीयले राहत सङ्कलन अभियानलाई तीव्र पारे पनि ठूलोमात्रामा घर क्षति भएका कारण वितरण प्रभावकारी हुन सकेको छैन । उद्धार तथा राहतको काम प्रभावकारी नहुँदा स्थानीयले दुःखेसो पोखेका छन् । रासस