४ कार्तिक २०८३, बुधबार

पाल्पामा राहत संकलन तथा वितरण कार्य तिव्र

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Palpa-rahat

– सुशिल नेपाल
पाल्पा, १६ वैशाख । जिल्ला दैविप्रकोप उद्धार समिति पाल्पाले जिल्लामा भूकम्प पीडितका लागि राहत संकलन तथा वितरणको काम तिव्र रुपमा अगाडि बढाएको जनाएको छ ।

भुकम्प पीडितका लागि श्रीनगर लायन्स क्लव अफ पाल्पाले २५ हजार ५ सय २५ रुपैयाँ, कर्मचारी मिलन केन्द्र पाल्पाले २५ हजार रुपैयाँ, अखण्ड नेपाल पार्टीले १ सय २५ थान त्रिपाल जिल्ला दैवी प्रकोप उद्धार समिति पाल्पाका प्रमुख तथा प्रमुख जिल्ला अधिकारी बिष्णुकुमार कार्कीलाई हस्तान्तरण गरेका छन् । पाल्पा उद्योग वाणिज्य संघको सहयोगमा जिल्लाका विस्थापित परिवारलाई मंगलबार सय थान त्रिपाल वितरण गरिएको छ ।

यसैबीच नेपाली सेनाको नेतृत्वमा प्रभास चौकी र दोभान चौकी अन्तर्गत कोलडाँडा गाविसमा ३३ र दोभानमा १ सय ३४ थान त्रिपाल वितरण गरिएको प्रहरीले जनाएको छ । यसैगरी शसस्त्र प्रहरी बलको नेतृत्वमा बिभिन्न गाविसका भूकम्प पीडितलाई ३७ थान त्रिपाल वितरण गरिएको छ ।

त्यस्तै, रामपुर इलाका प्रहरी कार्यालयको संयोजन तथा रामपुर नगरपालिकाको सहयोगमा ५१ थान त्रिपाल, रामपुर उद्योग वाणिज्य संघ र त्यहाँका राजनीतिक दलहरुको समन्वयमा ६० हजार नगद सहलकोटबासीलाई वितरण गरिएको छ । भुकम्पबाट सहलकोटमा गाउँ नै विस्थापित भएको छ ।

त्यस्तै, जिल्ला विकास समिति पाल्पाले खस्यौली र भैरवस्थान गाविसका ६ परिवारलाई प्रतिपरिवार १ हजारका दरले नगद राहत वितरण गरिसकेको छ ।

रामपुरमा रहेको पाल्पा एफएमले ३० हजार वरावरको नगद तथा जिन्सी संकलन गरेर स्थानीय प्रहरी मार्फत सहलकोट र आसपासका पीडितलाई वितरण गरेको छ । त्यस्तै जिल्लाका अन्य संघसंस्था, कर्मचारी तथा व्यबसायीहरुले पनि भूकम्प पीडितका लागि सहयोग गरेका छन् ।

जिल्लाका ६० गाविस र दुई नगरपालिकाका विभिन्न स्थानमा भएको क्षतिको विवरण संकलनका लागि जिल्ला प्रहरी कार्यालय पाल्पाले प्रहरी खटाएको छ । क्षतिको विवरण आउने क्रम अझपनि जारी रहेको प्रहरीले जनाएको छ । पाल्पामा ३ सय ६२ घर पुर्ण रुपमा क्षति भएका छन भने २ हजार वढी बिस्थापित भएका छन् ।