४ कार्तिक २०८३, बुधबार

नुवाकोटमा मर्नेको संख्या ६ सय ३८ पुग्यो, भूकम्प पीडितको उपचारमा भूटानी चिकित्सक खटिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nowakot-bhukamapa-1

– रामहरि गजुरेल

नुवाकोट, १६ वैशाख । नुवाकोटमा भुकम्पबाट मृत्यु हुनेको सख्या ६ सय ३८ पुगेको छ । स्थानीय प्रशासनका अनुसार घाइतेको संख्या १ हजार भन्दा बढी रहेको छ ।

अन्य जिल्लाहरु मध्ये मुख्यगरी नुवाकोट भूकम्पको प्रभाव अत्याधिक रहेका कारण ठूलो मात्रामा जनधनको क्षति हुन पुगेको हो । जिल्लाका घर तथा भौतिक संरचनामध्ये ९५ प्रतिशत भूकम्पले नष्ट भएका छन् । ग्रामिण क्षेत्रहरुमा अझैँसम्म उद्धारको कार्य नसकिदा पुरिएका शवहरु धेरै भएको हुनसक्ने र मृतकहरुको संख्या अझैँ बढ्ने अनुमान गरिएको छ ।

मंगलबारसम्म स्थानीय प्रशासन घाइतेको उद्धार र मृतकको व्यवस्थापनमा जुटिरहेको छ । गाउँगाउँमा घाइतेहरुको उद्धार गर्न र पीडितलाई राहत बाड्न मंगलवाट थालनी भएको प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए । तरपनि सरकारले कुनै चासो नदिएको गुनासो भूकम्प पीडितहरुबाट आइरहेको छ । अधिकाँश खुला आकाशमुनी रात बिताइरहेका पीडित परिवारले बजारमा रहेको पाल मात्र किन्ने वातावरण बनाइदिए पनि सहज हुने भनिरहेका छन् ।

Nowakot-bhukamapaतर, स्थानीय प्रशासन, रेडक्रस लगायतले पाल र राहत सामग्री तथा रकम वितरण गरिएको जनाएको छ । प्रजिअ निरौलाका अनुसार राहत रकम ४ करोड र ४ सय थाल पाल प्राभावित क्षेत्रहरुमा पठाइएको छ । तरपनि राहत अपुग हुने र भूकम्पबाट पीडितहरुलाई जिल्लाभर वितरण गर्न थप ३७ करोड लाग्ने उनले बताए । हेलिकप्टरबाट घाइतेहरुको उद्धार गरी सदरमुकाम र काठमाण्डौं पु¥याउने कार्य जारी रहेको छ ।

मंगलवारबाट भने भूटानी चिकित्सक र उद्धार टोलीले घाइतेहरुको उपचारमा थप सहयोग पुर्‍याएको छ । भूटानी डा. तोब्ग्याल वाङचुकको नेतृत्वमा रहेको ६२ जनाको टोलीले उपचार र विरामीहरुको व्यवस्थापनको कार्य गरिरहेको छ । जिल्ला अस्पतालको भवन भत्किएपछि खुला चौरमै उपचार भइरहेको छ । बसपार्कमा रहेको १२ कोठे भूइतले भवन खाली रहेको र त्यसलाई अस्थायी अस्पतालको रुपमा सञ्चालन गर्न स्थानीय प्रशासनको प्रयास स्थानीयवासीको अबरोधले सफल नभएपछि घाइतको उपचारमा समस्या आउने अवस्था भएपनि भूटानी चिकित्सक र उद्धार टोली आएपछि सहज भएको डा. मधुकर दाहालले बताए ।

नुवाकोटको दुर्गम गाविसहरु भाल्चे, साल्मे, किम्ताङ, फिकुरी, ध्याङफेदी, वेतिनी, सिक्रे, तलाखु, गाउखर्क लगायतका गाविसमा वढि क्षती पुगेको छ । जिल्ला प्रशासन कार्यालय पूर्ण रुपमा क्षतिग्रस्त छ भने अन्य सरकारी कार्यालय र विद्यालयहरु भत्किएका छन् ।