२ कार्तिक २०८३, सोमबार

‘हरि’ भनेर बोलाउदा हजुर भने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Hariकाठमाडौ, १६ वैशाख । गोंगबु नयाँ बसपार्क सडकको उत्तरतर्फ दर्जनौं घर भत्किएका छन् ।

सुरक्षाकर्मीहरु भत्किएका घरमा पुरिएकाहरुलाई उद्दार गर्न खटिएका छन् । भत्किएको घरमा पुरिएका शवको दुर्घन्ध फैलिएको छ ।

उद्दारको दृश्य हेर्ने सयौंको भीड छ । त्यही भीडमा मंगलबार पर्वतका एक बृद्ध र एक महिला आँशू बगाउदै बसको भेटिए ।

उनीहरु थिए धनबहादुर नेपाली र मन माया ।

शनिबार दिउँसो महाभूकम्प गएपछि एकजनाले धनबहादुरलाई फोन गरेर भनिदिए, तपार्इंका छोरा हरिप्रसाद नयाँ बसपार्कको एक लज भत्किएर पुरिएका छन् ।

राति १० बजे फोन आएको थियो । धनबहादुर त्यति नै बेला छोरी मनयामासंग पर्वतबाट हिंडे र छोरा पुरिएको भनिएको लजअघि आइपुगे । मनमाया हरिप्रसादका दिदी हुन् ।

साँघुरो बाटो, चार घर एक्कै ठाउँमा भत्किएका कारण उद्दार गर्न गाह्रो परेको स्थानमा हरि थुनिएका छन् ।

दुई दिन अघिसम्म एक कुनाबाट गएर हरि भनेर बोलाउँदा उनले हजुर भन्दै बचाउन आग्रह गरेका थिए । ‘तर हिजोबाट कुनै पनि आवाज बाहिर आएको छैन’, आँखा भरि आँसू पार्दै दीदी मनमायाले भनिन्, ‘अब त डोजर लगाउने भनेको छ । भाईलाई जीवित हेर्न पाउने आशा कम छ ।’

हरि आफ्ना साथीहरुसंग लिबिया जानका लागि पर्वतबाट आएका थिए । बेलुकी खाने कुरा किन्नका लागि एक साथीलाई बाहिर पठाए । त्यहि बेलामा भूकम्प गयो । र, त्यहि थुनिए ।

भत्किएका चार गेष्ट हाउसमा विदेश जान हिंडेका र स्वदेश फिरेका युवाहरु थिए । पर्वत, आर्थर डाँडाखर्कका २१ हरिसँग पर्वतकै राम्जा गाविसका साथी पनि थिए ।

सुरक्षाकर्मीले हरि थुनिएकै छेउबाट मंगलबार एउटा मृत व्यक्ति निकाल्यो । उनीहरुले त्यसलाई नियाले । तर, त्यो शव हरिप्रसादको थिएन ।

डोजर लगाएर हरिलगायत उनका साथीहरुलाई निकाल्ने पहल भइरहेको कान्तिपुर दैनिकले छापेको छ ।

तर बाबु र दिदीलाई हरिको अनुहार जिवितै हेर्न पाउने आश कम छ किनकी उनी पुरिएको चार दिन बितिसक्यो । अघिल्लो दिनदेखि उनले आवाज निकालेका छैनन् ।