काठमाडौं, १६ वैशाख । भूकम्पमा परेका अर्घाखाँचीका ऋषि खड्काको ८२ घन्टापछि राजधानीको गोंगबुबाट जीवितै उद्धार गरिएको छ ।
फ्रान्सको विशेषज्ञ टोलीको सहयोगमा सशस्त्र प्रहरी बलको सीएसएसआर (कोल्याप्स्ड स्ट्रक्चर सर्च एन्ड रेस्क्यु टिम)ले मंगलबार राति सवा दस बजे उद्धार गरी उनलाई उपचारका लागि टिचिङ अस्पताल महाराजगन्ज पुर्याएको हो।
गोंगबुस्थित मित्रनगरमा रहेको पाँचतले सयपत्री गेस्ट हाउसको भुइँतलाबाट २८ वर्षीय ऋषिको उद्धार गरिएको हो ।
टोलीमा रहेका सशस्त्रका सात र सीएसएसआरका पाँच गरी १२ जना मध्याह्न १ बजेदेखि खटेको अन्नपूर्ण पोष्टले छापेको छ । टोलीले ऋषिलाई पाँच घन्टाको प्रयासपछि जीवितै फेला पारेको थियो।
सेना र कार्यविनायक अस्पतालका चिकित्सकले ऋषिलाई अक्सिजन मास्क लगाएर स्लाइन र शक्तिवद्र्धक सुई दिएका थिए।
साँझ ६ बजे चिकित्सकसँग गेस्ट हाउसको भुइँतलामा पुगेका रोटरियन दीपजंग शाह ठकुरीले थिचिएका युवक ऋषिलाई उद्धृत गर्दै अन्नपूर्णसँग भने, ‘उनी जसरी पनि बचाइदिनोस् भनिरहेका छन्। खुट्टामा गाह्रो भइरहेको छ। दाहिनेपट्टि कोल्टो परेको र काठले भुँडीमा घोचे जसरी थिचेको छ । टाउको र मुटु सुरक्षित छ, देब्रे हात चलाइरहेका छन् ।’
भुइँतलामै करिब साढे तीन घन्टा उनको उपचार गरेपछि उद्धार टोलीले एक घन्टा लगाएर उनलाई निकालेको थियो। ठकुरीका अनुसार ऋषिसँगै एक मृत युवक घोप्टो परेर वान्ता गरेको र मुखमुनि भुइँमा अलिकति रगत देखिएको अवस्थामा भेटिएका छन्।















प्रतिक्रिया