काठमाडौं, १६ वैशाख । सिंगापुर पुलिसको इन्स्पेक्टरबाट पाँच महिनाअघि पेन्सन पकाएर बाँकी जीवन स्वदेशमै बिताउने उद्देश्यले तेह्रथुम छथरका पिताम्बर तिगेला फर्केका थिए।
काठमाडौंमा बसोबास गर्ने उनले शनिबार सिंगापुर पुलिसमै कार्यरत धनकुटा, परेवादिनका यमबहादुर लिम्बूलाई भेट गरी सपरिवार रमाइलो गर्ने योजना बनाए। उनीहरूले धरहरा चढ्ने निधो गरे।
जतिखेर उनीहरू धरहराभित्र थिए, त्यही बेला १९९० सालपछिको ठूलो भूकम्प आउँदा धरहरा टुक्राटुक्रा भयो। उनीहरूको चोला उठ्यो।
शनिबारको महाभूकम्पले पृथ्वी हल्लाइरहेका बेला धरहराभित्र पिताम्बरकी जीवनसंगिनी बुधमाया लिम्बू, एकमात्र सन्तान प्रवीण, भतिजी कौशिला र भदै सञ्जु पनि धरहराभित्र हाँसीखुसी रमाइरहेको अन्नपूर्ण पोष्टले छापेको छ । धरहराबाट काठमाडौं हेर्दै रमाइलो गर्न हिँडेका उनीहरू कहिल्यै नफर्कने गरी गए ।
धनकुटा परेवादिनका यमबहादुर ६ महिनाअघि नेपाल आएका थिए बिदा सकेर उनी सोमबार सिंगापुर उड्ने कार्यक्रम थियो । बिदा सकेर कर्मक्षेत्र फर्कनुअघि नै उनी सदाका लागि बिदा भए। यमबहादुरका पत्नी र छोरी सिंगापुरमै छन्।
पिताम्बरको परिवार र यमबहादुरसँगै संसार छाडेकी कौशिला नर्सिङ पढ्दै थिइन्। बिरामीको सेवा गर्ने उद्देश्यले नर्सिङ पढिरहेकी उनलाई जीवनको अन्तिम समयमा कुनै नर्सको सेवा आवश्यकता परेन।
धरहरा ढल्दा आफ्ना काकाकाकीसँगै उनले “ऐया” समेत भन्न भ्याइनन्। “खोइ, घुमेर फर्कन्छौं भन्थे”, कौशिलाका बुबा तथा पिताम्बरका दाजु टेकराज तिगेलाले अन्नपूर्णसँग भने, “पछि दुःखको खबर आयो।















प्रतिक्रिया