काठमाडौँ, १५ वैशाख । भूकम्पको बेला ठूलो क्षति नपुगेको हिमालपारीको जिल्ला मुस्ताङमा भुकम्प पछि ठूलो क्षति हुने खतरा बढ्दै गएको छ । सोमबारदेखि सदरमुकाम जोमसोम र आसपासका क्षेत्रहरु भासिन थालेका छन् । मंगलबार दिउँसोसम्म जोमसोमका ९ र अन्य गाविसको ४ घर पूर्ण रुपमा भासिएको छ भने १ सय ३३ घरमा आंशिक क्षति पुगेको छ ।

शसस्त्र प्रहरी बलको चार घर र जिल्ला निर्वाचन कार्यालयको भवन समेत पूर्ण रुपमा भासिएको छ । जिल्ला विकास समितिको कार्यालय चर्किएको छ भने एयरपोर्ट पछाडिको जमिन समेत भासिन थालेको छ । भुकप्पको बेला तत्काल असर नदेखिए पनि दिनहरु बित्दै जाँदा जोखिम पनि बढ्दै गएको पत्रकार तिलक बिकले जानकारी दिए ।
केही घर बगेर नदीमा जान थालेपछि नदी थुनिएर बस्तितर्फ आउने खतरा पनि गढ्दै गएको उनले जानकारी दिए । उनका अनुसार मुस्ताङको जमिन फाट्ने र भासिने क्रम बढ्न थालेको छ, जसमा जोमसोम सबैभन्दा बढी जोखिममा देखिएको छ ।
दुई दिनदेखि लगातार जमिन भासिन थालेपछि सर्वसाधरणहरु आफ्नो खेतवारीमा पाल टाँगेर बस्दै आएका छन् । जोमसोमका करिव डेढ दर्जनभन्दा बढी घरहरु जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी नरहरि बरालले दैनिक नेपाललाई टेलिफोनमा जानकारी दिए । उनले पीडितलाई मंगलवारनै राहात वितरण गर्ने जानकारी दिए । पूर्ण क्षति भएकालाई पाँच हजार र आशिंक क्षति भएकाहरुलाई तीन हजार रुपैयाँको दरले राहात रकम प्रदान गर्ने बरालले बताए ।
प्रहरीहरुले मुचुल्का उठाइरहेकाले अझैसम्म क्षतिको पूर्ण विवरण आइनसकेको उनले बताए । पीडितलाई मुस्ताङ उद्योग वाणिज्य संघले १५ सय, जिल्ला रेडक्रस सोसाइटी र गैर सरकारी महासंघले १, १ हजारको दरले राहत रकम प्रदान गर्ने निर्णय गरेको छ । जिल्लाको कुञ्जो, मार्फा, लेते लगायतका गाउँमा पनि क्षति पुगेको छ ।
तस्वीरहरुः निरज थकाली

















प्रतिक्रिया