धनगढी, १५ वैशाख । शनिबार आएको महाभूकम्पले राजधानीस्थित देशका २९ जिल्लामा महाविपत्ती आइलागेपछि सुदूरपश्चिमबासीले राहत स्वरुप स्वस्फुर्तरुपमा आर्थिक सहयोग र रक्तदान गर्न थालेका छन् ।
आइतबार कैलाली, डडेल्धुरा, डोटी, कञ्चनपुर लगायतका जिल्लामा सर्वसाधरणहरुले स्वस्फुर्तरुपमा आर्थिक सहयोग र रगतदान गरेका हुन् । यहाँ भूकम्पको झट्का महसुस गरिए पनि हालसम्म कुनै क्षति भने भएको छैन ।
कैलालीमा आइतवार तीन लाख ३१ हजार चार सय ४८ रुपैयाँ संकलन भएको छ भने दुई सय २८ जनाले रक्तदान गरेका छन । फाया नेपाल सञ्चालन गरेको कार्यक्रममा ३५ जनाले रक्तदान गरेका छन । फायाका अध्यक्ष शेरवहादुर वस्नेतका अनुसार फायाका संस्थापक सदस्य यज्ञराज वाँस्तोला सहितका ३५ जनाले फाया परिसरमा रक्तदान गरेका हुन ।
धनगढी मारवाडी युवा संगठनको कार्यक्रममा एक सय १४ जनाले रक्तदान गरेको व्यवसायी मनोज अग्रवालले वताए । यस्तै नाष्ट कलेजमा ५६ जनाले र अनेरास्ववियू क्रान्तिकारीको कार्यक्रममा २३ जनाले रक्तदान गरेका छन ।
भूकम्पले महाविपत्ती ल्याई धनजनको क्षति भई घाईतेको उपचारमा रगतको समस्या भएपछि सर्वसाधरणहरुले नेपाल रेडक्रस मार्फत् स्वस्फुर्तरुपमा रक्तदान गरेका हुन् ।
धनगढीमा एकै दिनमा यति धेरैले रक्तदान गरेको यो नै पहिलोपटक हो । आइतबार जनशक्ति अभावमा रक्तदान गर्नेहरुबाट रगत संकलन गर्न समस्या भएको रेडक्रसले जनाएको छ । अझै रक्तदान गर्छौ भनेर स्वस्फुर्तरुपमा आइरहेकोले रक्तदान गर्नेको संख्यामा सोमवार व्यापक बृद्धि हुने रक्तसञ्चार केन्द्र धनगढीका प्रमुख धरणीधर पन्तले वताए । रगतदाताबाट संकलीत रगत सुरक्षित तवरले पठाउने सोमबार काठमाण्डौं पठाउने प्रमुख पन्तले जानकारी दिए ।
यसैगरि, भूकम्पले तहसनहस बनाए पछि राहतस्वरुप ब्यक्तिगत तथा संस्थागतरुपमा आइतबार केहीले आर्थिक सहयोग गरेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।
नेपाल मधेशी निजामती कर्मचारी मञ्च कैलालीले ५० हजार, अहेव अनमी हकहित संरक्षण समिति कैलालीले एक लाख ७० हजार, वेस्टर्न एकेडमी धनगढीले ४५ हजार ६सय ३५, विशाल युवा क्लव, ज्योती आमा समुह र महिला जागरण समुहले संयुक्तरुपमा २० हजार ७ सय ३१ तथा नेविसंघ÷तरुण दल कैलालीले २५ हजार ३ सय ६२ र एलाइन्स इन्टरनेशनल एकेडमी धनगढीले आठ हजार ७ सय २० रुपैयाँ आर्थिक सहयोग गरेको प्रशासन कार्यालय प्रशासकीय अधिकृत चिरिञ्जीबी घिमिरेले वताए ।
यस्तै, धनगढीमा सोमबार पनि जेसिजले रक्तदान गरेको छ । यसैगरि भूकम्प पीडितका लागि भनेर कैलालीको अत्तरिया, महेन्द्रनगर, डडेल्धुरा, डोटीमा पनि आर्थिक संकलन भएको छ । संकलित रकम प्रधामन्त्री दैवी प्रकोप उद्धारकोषको खातामा जम्मा गरिएको अधिकृत घिमिरेले जानकारी दिए ।
धनगढी चौराहाका व्यापारीले पनि झण्डै एक लाख रुपैया स्वतफूर्त ढंगले संकलन गरेको व्यवसायी लोकराज भट्टले वताए । थप रकम संकलन भएपछि प्रधानमन्त्री राहत कोषमा सो रकम जम्मा गरिने उहाँले वताए ।















प्रतिक्रिया