– यमबहादुर बम
धनगढी, १५ वैशाख । धनगढीस्थित कैलाली बहुमुखी क्याम्पस (केएमसी) ले भूकम्प पीडितलाई एक लाख बढी आर्थिक सहयोग गरेको छ ।
क्याम्पसका प्राध्यापक तथा कर्मचारीहरुबाट संकलित एक लाख ५ सय ७ रुपैयाँको बैंक भौचर कैलाली बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्राध्यापक सुरेन्द्र चन्दले कैलालीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थलाई हस्तान्तरण गरे ।
भूकम्प पीडितलाई केही राहत होस् भन्ने उद्देश्यले प्रधानमन्त्री दैवि प्रकोप उद्दार कोषको खातामा जम्मा गरिएको क्याम्पस प्रमुख चन्दले जनाए । क्याम्पसमा कार्यरत प्राध्यापक र कर्मचारीको एक दिनको तलब बराबरको एक लाख ५ सय ७ रुपैयाँ भूकम्प पीडितलाई सहयोग गरिएको उनले बताए ।
सहयोग रकम हस्तान्तरण कार्यक्रममा क्याम्पसका सहायक क्याम्पस प्रमुख डाक्टर प्राध्यापक पद्मराज जोशी, पब्लीक क्याम्पस प्राध्यापक संघका क्याम्पस ईकाइ सभापति डाक्टर राजेन्द्रवीर चन्द लगायत प्राध्यापकहरुको सहभागिता रहेको थियो । प्रजिअ पन्थले राहत तथा सहयोग गर्न चाहने संस्था वा व्यक्तिले प्रधानमन्त्री दैवि प्रकोप उद्दार कोषको खातामा रकम जम्मा गरी सहयोग गर्न सबैमा अनुरोध गरे ।
प्रधानमन्त्री दैवि प्रकोप उद्दार कोषको खाता एभरेष्ट बैंक लि. ००१००१०५२००२७० र ००१०११०२२०००१२, नेपाल बैंक लिमिटेडको ००२-११-०५३३१३, ग्लोबल बैंक लि.को ०४११०१००००००५, स्टाण्डर्ड चार्टड बैंक नेपाल लि. को १८०१३२४३८०१ र नेपाल बंगलादेश बैंक लि.को ०३५१४१ खाता नम्बरमा सहयोग रकम जम्मा गर्न सकिने जनाइएको छ ।
















प्रतिक्रिया