३० आश्विन २०८३, शुक्रबार

मृत्युलाई जितेर बाँच्न सफल भए यिनीहरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Hospital-bed-bhukampa2

– कमलराज भट्ट

काठमाडौं, १४ वैशाख । काठमाडौंमा शनिवार गएको भूकम्पमा परी सयौं नागरिकको ज्यान गएको छ । शनिवार बिहान ११ : ५६ बजे गएको ७.६ रेक्टर स्केलको भूकम्पबाट पाँच हजार भन्दा बढी घाइते अवस्थामा अस्पतालमा छन् । शनिवारदेखि सुरु भएको भूकम्प आइतबार र सोमबार पनि निरन्तर आइरह्यो ।

जसले नेपालका हरेक नागरिकको मनमा त्रास कायमै छ । कतिपय त अझै पनि मरिने हो कि भन्ने चिन्तामा छन् । त्यही चिन्ताले रातभर नसुतेर जाग्राम खुल्ला चौरमा बसिरहेका छन् । नेपालमा सबैभन्दा बढी क्षति भएको राजधानी काठमाडौंमा धेरै जना घाइते भएको तथ्याङ्क छ । जसमा धेरैले मृत्युलाई जितेर बाँच्न सफल भएका छन् ।

‘घरमाथिको छतमा घाम ताप्न गएको थिएँ, एक्कासी घर हल्लिन थाल्यो । म पछारिएर घरको पर्खालमा ठोक्किएँ । मेरो खुट्टामा चोट लाग्यो । म हिँड्नै नसक्ने भएँ । परिवारका सदस्य मिलेर अस्पताल लगे । धन्न आज भगवान कृपाले कालको मुखबाट बाँचियो’

काठमाडौं असनका कपिल तिमिल्सिना त्यसका उदाहरण हुन् । उनी भूकम्प आउँदा आफ्नै घरको छतमा उभिरहेका थिए । भूकम्प आएपछि उनी घरको भित्तामा पछारिए । उनको खुट्टामा चोट लाग्यो । पहिलोपटकको भूकम्पले घर चर्किसकेको थियो । उनी घाइते अवस्था हतारिँदै छतबाट बाहिर निस्किए । बाहिर निस्किेको केही समयमै उनको घर ढल्यो ।

त्यो बेला उनका सबै परिवार बाहिर निस्किसकेका थिए । त्यसपछि उनलाई वीर अस्पताल लगिएको थियो । प्राथमिक उपचारपछि टुँडिखेलमा भेटिएका उनले दैनिक नेपालसँग भने–‘घरमाथिको छतमा घाम ताप्न गएको थिएँ, एक्कासी घर हल्लिन थाल्यो । म पछारिएर घरको पर्खालमा ठोक्किएँ । मेरो खुट्टामा चोट लाग्यो । म हिँड्नै नसक्ने भएँ ।’

उनलाई परिवारका सदस्य मिलेर अस्पताल लगेका थिए । ‘धन्न आज भगवान कृपाले कालको मुखबाट बाँचियो’- उनले अगाडि थपे ।

उनका श्रीमती र छोरालाई पनि रिँगटा लागेर टुँडिखेलमै अस्पतालको बेड ल्याएर आराम गराइएको थियो । हामीले टुँडिखेल पुग्दा उनकी श्रीमती रिमा वेडमा आराम गरिरहेकी थिइन् । भूकम्पपछिको त्रासले रिमा बेहोस भएको कपिलले बताए ।
कपिल जस्तै बसन्तपुर बस्दै आएकी सीमा पौडल पनि भूकम्पबाट मरेर बाँचेकी पात्र हुन् । शनिवारको दिन घरमा लुगा धोइरहेकी उनी मृत्युको मुखबाट बचेर टुँडिखेल पुगेकी थिइन् । श्रीमान र छोरी बाहिर घुम्न गएका थिए । त्यही बेला भूकम्प आयो । उनी आत्तिएर घरको तेस्रो तल्लाबाट तल झर्न हतारिँदै आइन् । ठूलो भूकम्पले उनलाई पछारेर सिँढीबाट दोस्रो तल्लासम्म पछर्दै लग्यो जसबाट उनको टाउको कम्मर चोट लाग्यो ।

त्यो बेला उनी हिँड्नै नसक्ने भइन् । तल्लो तलामा बस्दै आएका परिवार पनि भूकम्प आएपछि बाहिर निस्कने तर्खरमा थिए । उनी पल्टिँदै पल्टिँदै दोस्रो तलामा पुगिन । दोस्रो तलामा बस्दै आएका परिवारले उठाएर उनलाई बाहिर सुरक्षित स्थानमा ल्याएका थिए । त्यसपछि उनलाई वीर अस्पतालमै भर्ना गरिएको थियो । अस्पतालमा प्राथमिक उपचारपछि टुँडिखेलमा वेडमा भेटिएकी उनले मृत्युको मुखबाट बाँचेर आएको बताइन् । ‘बाँच्छु भन्ने लागेको थिएन्, तर भगवानले बचाए ।’ उनले भनिन् ।

Hospital-bed-bhukampa

कपिल र सीमा भूकम्पले निम्त्याएको काललाई जित्ने केही उदाहरणीय पात्र मात्रै हुन् । भूकम्प आएको पहिलो दिन शनिवार टुँडिखेलमा हजारौं नागरिक ज्यान बचाएर आएका थिए । अहिले पनि त्यो संख्या त्यहीँ छ । गम्भीर घाइते भएर अस्पतालमा रहेका कतिपयको मृत्यु भइसकेको छ । बाँचेकाहरु टुँडिखेलसँगै खुल्ला चौर तथा सडकमा त्रिपाल टाँगेर रातभरी नसुतेर बसिरहेका छन् । घर छोडेर हिँडेका सर्वसाधारणले खान समेत पाएका छैनन् । उद्दारमा खटिएका सेना र प्रहरीको पनि केही स्थानमा मृत्यु भइसकेको छ ।

Hospital-bed-bhukampa3

यस्तो अवस्थामा देशविदेशबाट उद्दार टोली समेत नेपाल आइरहेका छन् । अझै केही दिन भूकम्पले क्षति गर्ने भुगविद्हरुको अनुमान छ । जसले बाँचेकाहरुलाई फेरि मृत्युको मुखमा लैजान सक्छ । मृत्युबाट बाँचेका सबैको ज्यानको रक्षा गर्न सरकारले पहल गर्नुपर्ने घाइतेहरुको माग छ ।