काठमाडौँ, १३ वैशाख । शनिबारको महाभूकम्पबाट राष्ट्रपति भवन शितल निवासमा समेत क्षति पुगेको छ ।
भवनको अघिल्लो भागमा केही नभएपनि दक्षिण, पश्चिम र उत्तर भागमा ठूलो क्षति भएको राष्ट्रपति डा रामवरण यादवका प्रेस सल्लाहकार राजेन्द्र दाहालले जानकारी दिनुभयो । भवन भित्र पसेर नहेरेका कारण क्षति विवरण अझै यकिन हुन सकेको छैन् ।
राष्ट्रपति डा. यादवले समेत शनिबार रात शितल निवासको खुल्ला चौरमा बिताउनुभएको छ । भुकम्पको त्रासमा उहाँ रातभर जाग्राम बस्नुभएको थियो । अहिले पनि राष्ट्रपति यादव चौरमा हुनुहुन्छ ।
राष्ट्रपति भवन अगाडिको दायाँतर्फको खुल्ला चौरमा सयौँ सर्वसाधारणले समेत रात काटेका छन् । राष्ट्रपतिले रात बिताएको भन्दा पूर्वतर्फको खुल्ला चौरमा करिब १४ सय सर्वसाधारणले रात बिताएका हुन् । खुल्ला चौरमा बस्नेमा अधिकांश सुत्केरी आमा र बालबालिका छन् । नजिकैको अन्तरराष्ट्रिय बालमैत्री अस्पतालमा उपचार गर्न आएका उनीहरु सुरक्षित ठाउँ खोज्दै राष्ट्रपति भवनको खुल्ला चौरमा पुगेका थिए । उनीहरुलाई राष्ट्रपतिको सुरक्षामा खटिएका सुरक्षाकर्मीले केही प्याकेट बिस्कुट र पानी वितरण गरेका छन् । राष्ट्रपति बसेको चौरको तस्वीर खिच्न भने सुरक्षाकर्मीले दिएनन् ।





















प्रतिक्रिया