काठमाडौं, १३ बैशाख । शनिवार मध्यान्न आएको भुकम्पबाट त्रसित भएका राजधानीका सर्वसाधरण रातभर त्रासमा बाँचेका छन् । फेरि अर्को ठूलो भुकम्प आउने डरले काठमाण्डौ रातभर जाग्राम बसेको छ ।
काठमाडौंको टुँडिखेल र रंगलशाला समेत सर्बसाधारणले भरीभराउ भएको थियो । टाढा टाढाबाट मानिसहरु टुँडिखेलमा बास बस्न आएका थिए । घरबाट ओड्ने, ओच्छ्याउनेको जोहो गरी सर्वसाधरणहरु खाली चउर र सडकमा रात बिताएका छन् ।

राजधानी स्थित कुनै पनि खालि ठाउँ खाली थिएन । कतिसम्म भने बबरमहलदेखि बानेश्वर सडक खण्डमा समेत मानिसहरु ओच्छ्यान लगाएर सुते ।
टुँडिखेलमा सर्वसाधरणहरुले आगो तापेर र एक आपसमा कुरा गरेर रात बिताएका थिए । आफुहरु सुरक्षित हुनको लागि टुँडिखेल आएको र टुँडिखेलमा आएपछि ढुक्क भएको न्यु प्लाजादेखि टुँडिखेल बास बस्न पुगेकी विन्दु डालमियाले बताईन । उनले भनिन्, ‘सायद आज बेलुकी पनि यतै आइन्छ होला ।’ श्री ओम गल्स होम होस्टेलकी सञ्चालिका समेत रहेकी डालमियाले करिव २२ जना विद्यार्थीलाई समेत सँगै लिएकी थिइन् ।
राजधानीका अधिकांश मानिसहरु आफ्नो परिवारको साथमा खाली चौर र बाटोमा रात काटेका थिए । उनीहरुले खानासमेत सडक र चौरमै खाएका छन् । अधिकांशले बिस्कुत, चिउरा, चाउचाउ, दालमोठको भरमा रात काटेका छन् ।
आज विहान करिव ५ तिर आएको भुकम्पको झट्काले सर्बसाधरण थप त्रसिद बनाएको छ । जसको कारण अझै पनि सर्बसाधरणहरु घर भित्र पस्न सकेका छैनन् । आज विहानसम्म करिव ६० पटक ४ देखि ७ दशमलव ६ रेक्टर स्केलसम्मको भुकम्भको धक्का महशुस गरिएको छ ।

















प्रतिक्रिया