बेनी (म्याग्दी), १२ वैशाख । पश्चिम म्याग्दीका पाँच गाविसका विद्यालय उमेरका बालबालिकाले मौसमी फल ऐँसेलु र काफल बेचेर पढाइ खर्च जुटाउने गरेका छन् ।
गाउँका जङ्गल तथा भीर पाखामा फल्ने मौसमी फल टिपेर नजिकको बजार वा सदरमुकामसम्म ल्याई बिक्री गरेर उनीहरुले किताब, कापी, विद्यालय पोसाकलगायत वर्षभरीका लागि चाहिने शैक्षिक सामग्री खरिद गर्ने गरेका अर्जुन उच्चमावि भकुण्डेचौरका शिक्षक रामचन्द्र जैसीले बताउनुभयो ।
नयाँ शैक्षिक सत्र सुरु हुने बेला अर्थात् वैशाख महिनामा नै गाउँघरका जङ्गल तथा पाखामा पाइने ऐँसेलु, काफल, चुत्रोलगायत मौसमी फल टिपेर बिक्री गरी पढाइ खर्च जुटाउने गरेका शिक्षक जैसीको भनाइ रहेको छ ।
जिल्लाका भकिम्लीको तोराखेत, ओखरबोट, रुम, काफलबोट, धारापानीलगायत गाउँका बालबालिका ऐँसेलु, काफल टिप्न जङ्गल जाने गर्दछन् । उनीहरुले सङ्कलन गरेका फल नजिकको बजार, विद्यालय वा सडक छेउमा बसेर बिक्री गर्ने र त्यसबाट आएको पैसाले वर्षभरीको पढाइ खर्च टार्ने गरेको तोराखेतका १४ वर्षीय सुजन नेपालीले बताए ।
“तीन हजार रुपैयाँको काफल र ऐँसेलु बेचेँ, त्यसैले किताब, कापी, कलम, झोला र विद्यालय पोसाक किनेको छु”–जयन्ती मावि भकिम्लीमा सात कक्षामा अध्ययनरत नेपालीले भने । परिवारको आर्थिक अवस्था कमजोर भएका बालबालिकाले ऐँसेलु, काफललगायत फल र दाउरा बेचेर पढाइ खर्च जुटाउने गरेका स्थानीयवासी मेघनाथ सुवेदी बताउनुहुन्छ ।















प्रतिक्रिया