रौतहट, १२ वैशाख । रौतहटको चन्द्रपुर नगरपालिकामा सुतिरहेका पाँच जना युवक खुकुरी प्रहारबाट गम्भीर घाइते बनाइएका छन् ।
चन्द्रपुर–१० सन्तपुरटोलस्थित व्रतबन्ध गर्न आफन्तको घरमा आएका युवकहरु सुतिरहेको अवस्थामा गए राति २ बजे सोही वडाका ५५ वर्षीय कृष्ण सापकोटाले अन्धाधुन्ध खुकुरी प्रहार गरी उनीहरुलाई घाइते बनाएका हुन् । खुकुरी प्रहारबाट टाउको र जिउमा गहिरो घाउ लागेकाले सबै जनालाई थप उपचारको लागि चितवन मेडिकल कलेज पठाइएको प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले बताउनुभयो ।
घाइते हुनेमा १५ वर्षीय ऋषि बजगाईं, १८ वर्षीय सञ्जय वजगाईं, १९ वर्षीय सागर वजगाईं, १६ वर्षीय अरुण पाण्डे र १५ वर्षीय सुरज पाण्डे रहेका प्रहरीले जनाएको छ ।
पर्सा जिल्लाको विभिन्न गाविसमा घर भएका ती युवकहरु सन्तपुरस्थित आफन्तको घरमा बिहीवार सामुहिक ब्रतबन्धमा आएका थिए । ब्रतबन्ध सकिएर एकैठाँउमा सुतिरहेको अवस्थामा सानो बुवाको नातापर्ने सापकोटाले पटकपटक खुकुरी प्रहार गरी फरार भएका छन् ।
खुकुरी प्रहार गर्ने कुनै कारण नखुलेको तथा अभियुक्त सापकोटा मानसिक रोगी हुनसक्ने प्रहरीको प्ररम्भिक अनुमान छ । प्रहरीका अनुसार युवतीलाई जिस्क्याएकाले खुकुरी हानिएको अनुमान गरिएको छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको र उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक सुधिरराज शाहीले बताउनुभयो । रासस















प्रतिक्रिया