
महेन्द्रनगर, ११ वैशाख । दिवंगत आमाको सम्झनामा कञ्चनपुरको एक परिवारले विपन्न समुदायका विद्यार्थीहरुलाई ‘स्कुल ड्रेस’ सहयोग गरेको छ ।
कञ्चनपुरको भीमदत्त नगरपालिका १३ पिपरैयाको रसायली परिवारले दिवंगत आमा रिउलीदेवी रसायलीको सम्झनामा स्थानीय बैजनाथ विद्या निकेतनका विद्यार्थीहरुलाई पोशाक सहयोग गरेको हो ।
स्वर्गीय रिउलीका जेठा छोरा किसन रसायलीले आमाको ४५औँ दिनको पुण्यतिथीमा यहाँका विपन्न गरिब समुदायका विद्यार्थीहरुलाई सहयोग गरेका छन् । बैजनाथ विद्यालयमा अध्ययनरत छात्रछात्रा गरी ३ सय विद्यार्थी लाई एक/एक जोरका दरले विद्यालय पोशाक सहयोग गरिएको किसनले बताए ।
रिउलीका छोराहरु किसन, सुमन, पाण्डु, गोपाल र छोरी रेखा लगायत सम्पूर्ण रसायली परिवारले एक कार्यक्रमकाबीच विद्यार्थीहरुलाई कपडा हस्तान्तरण गरेका थिए । रिउलीको ७१ वर्षको उमेरमा फागुन १८ गते निधन भएको थियो ।
यसरी निःशुल्क ‘स्कुल ड्रेस’ सहयोग पाएपछि विद्यार्थी लगायत शिक्षक समेत हर्षित भएका थिए । विपन्न गरिब समुदायका विद्यार्थीहरुले पहिलो पटक निःशुल्क ‘स्कुल ड्रेस’ पाँउदा हर्षित भएका छन् । यसरी विद्यार्थीहरुलाई सहयोग गर्दा उनीहरुको शैक्षिक क्षेत्रमा समेत सहुलियत हुने विश्वास गरिएको छ । ‘स्कुल ड्रेस’ किन्ने पैसाले उनीहरु कापी कलम किन्ने रसायली परिवारको बुझाई छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनक बहादुर सिहको सभापतित्वमा वितरण गरिएको कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक, स्थानिय समाजसेवी लगायतको सहभागिता रहेको थियो ।


















प्रतिक्रिया