लहान, ११ वैशाख । सिरहाको दक्षिणी क्षेत्रमा पर्ने मझौरा गाविस-३ जगतपुर फूलबरियामा एक दलित महिलाको कुटपिटबाट मृत्यु भएको छ ।
स्थानीय दशना रामकी श्रीमती २३ वर्षीया रीतादेवीलाई जेठाजु भोरिलले बिहीबार घरमै कुटपिट गरेपछि साँझ झुन्डिएको अवस्थामा रीताको शव भेटिएको हो । शव भेटिएपछि जेठाजुसहित घरका सबैजना फरार भएका छन् ।
“दिउँसो कुटपिट गरेपछि साँझ बहिनीको शव झुन्डिएको अवस्थामा भेटियो” मृतकका दाजु रामउद्गारले भन्नुभयो । उनका अनुसार शव झुन्डिएको अवस्थामा सासूले डोरी काटेर झिकेकी थिइन् ।
इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक उमाप्रसाद चतुर्वेदीले शव परीक्षणका लागि लहानस्थित रामकुमार शारदा उमाप्रसाद मुरारका स्मारक अस्पतालमा ल्याइएको जानकारी दिनुभयो । शव परीक्षण प्रतिवेदन नआएसम्म उनको कुटपिटमा मृत्यु भएको वा आत्महत्या के हो भन्ने विषयमा केही बताउन नसकिने चतुर्वेदीले उल्लेख गर्नुभयो ।
मृतकका पति दशना वैदेशिक रोजगारीका क्रममा कतारमा छन् । मृतक महिलाका दुई नाबालिका छोरी छन् । मृतकको माइती पक्ष अहिले इलाका प्रहरी कार्यालय लहानमा किटानी जाहेरी दिन आएको छ । प्रहरीले भने अनुसन्धान जारी रहेकाले यकिन भन्न नसकिने जनाएको छ । रासस















प्रतिक्रिया