२९ आश्विन २०८३, बिहिबार

भारतीय केरा भित्रिदा नेपाली किसानको करोडौं लगानी जोखिममा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

3

– तीर्थ नेपाल
चितवन, १० वैशाख । केरा उत्पादनका लागि नेपालमा वैशाखदेखि असोज महिना सम्मलाई सिजन मानिन्छ । यो अवधिमा देशमै सवैभन्दा बढी केरा उत्पादन चितवनमा हुने गरेको छ ।

स्थानिय केरा किसानहरुका अनुसार जिल्लामा चार हजार मेट्रिक टन केरा उत्पादन हुने गरेको छ । तर, यही अवधिमा भित्रिने भारतीय केराले यहांका किसानको करोडौं लगानी जोखिममा परेको छ । यहाँको केराले नै धान्ने समयमा भारतीय केरा आयातमा रोक लगाउन किसानहरुको माग छ ।

चितवन जिल्लावाट बार्षिक ८० करोड रुपैयां वरावरको केरा बिक्री हुने गरेको चितवन केरा उत्पादक संघका अध्यक्ष बिष्णुहरी पन्तले जानकारी दिए । भारतीय ब्यापारीहरुले नेपालको उत्पादन र ब्यापारलाई धरासायी बनाउन योजनावद्ध ढंगले केरा भित्र्याउने गरेको नेपाली किसानको दावी छ ।

सोही कारण देखाउदैं भारत विहारको भूषावलबाट काठमाण्डौ लैजादैं गरेको ७९ टन केरा चितवनको नारायणगढ स्थित पुल्चोकमा यहांका किसानहरुले नियन्त्रणमा लिएर प्रहरीलाई वुझाएका छन् । टि एन ५२ एच ३९९२, टिएन ५२ एच १७७९, एपी ०७ टिई ५३३५ नम्वरका तीनवटा ट्रकमा लोड गरि ल्याएको केरा आवश्यक प्रशोधन समेत नगरि ल्याएको नेपाली किसानहरुको भनाई छ ।

क्वारेन्टाईन चेकजाँच समेत राम्रो संग नगरिएको आरोप लगाउदैं चितवन केरा उत्पादक संघले प्रहरी समक्ष कार्वाहीको माग गरेको छ । जिल्ला प्रहरीलाई बुझाइएको सो मागपत्रलाई जिल्ला कृषी बिकास कार्यालय मार्फत बुधवार कृषी मन्त्रलायलाई पठाइएको छ ।

‘हामीलाई प्राप्त पत्र मन्त्रालयमा पठाइदिएका छौं, आवश्यक अनुसन्धान र कार्वाही उतैवाट हुन्छ’–जिल्ला कृषि कार्यालयका प्रमुख सोमनाथ घिमिरेले भने । भारतीय ट्रकले आवश्यक कागजात पुरा गरेको देखिएको जनाउँदै घिमिरेले गुणस्तरका बारे भने मन्त्रालयले नै हेर्ने घिमिरेले जानकारी दिए । अलिहेको सिजनमा भारतवाट ल्याइएको केरा नेपाली उत्पादन र बजारलाई धरासायी बनाउनकै लागि ल्याइएको अध्यक्ष पन्तले बताए ।

भारतवाट ल्याएको उक्त केराले नेपाली बजारमा प्रभाव पार्ने मात्र नभई यहां रोग भित्रने खतरा समेत रहेको पूर्वी चितवन जुटपानीका केरा किसान राजन घिमिरेले बताए । ‘केरा १० दिन अघि लोड गरिएको रहेछ, तर पनि पाकेको छैन खतरनाक औषधि प्रयोग भएको छ’–उनले भने ।

नेपालमा चितवन सहित सुनसरी, मोरङ, कञ्चनपुर, कैलाली, बारा, पर्सा लगायतका जिल्लामा ब्यवसयीक रुपमा केरा उत्पादन हुदैं आएको छ । चितवनमा ५ सय २५ जना व्यवसायीक केरा कृषक रहेका छन् । वार्षिक ६० करोड लगानी हुने र २० करोड आर्जन हुने गरेको छ ।
तर, भारतीय केराले यहांको बजार प्रभावित बनाउदै लगे आफुहरु धरासयी हुने उनीहरुले बताए ।

केरा किसानहरुको मर्कालाई राज्यले गम्भिरताका साथ लिनुपर्ने चितवन अध्यक्ष पन्तले बताए । आगामी दिनमा क्वारेन्टाईन चेकजांचलाई कडाई गर्नुपर्ने सर्त राख्दै किसानले प्रहरीमा बुझाएको केरा सहितको तिनवटा ट्रक बुधवार अपरान्ह छाडेका थिए ।

नेपाली बजारमा स्थानीय केरालाई प्राथमिकता दिने सहमति भएपछि नियन्त्रणमा रहेको भारतीय केरा सहितको ट्रक छाड्न चितवनका कृषकहरु राजी भएका हुन् ।

भरतपुर स्थित जिल्ला कृषि विकास कार्यालयको सभाहलमा बुधवार भएको सर्वपक्षीय बैठकमा फलफुल तथा तरकारी महासंघले स्थानीय उत्पादनलाई प्राथमिकता दिने सहमति जनाएपछि नियन्त्रणमा रहेको भारतीय केरा सहितको ट्रक छाड्न कृषकहरु राजि भएका हुन् ।

स्थानीय उत्पादनले बजारको माग पूर्ती गरे सम्म भारतीय उत्पादनलाई विक्रिवितरण नगर्ने व्यवसायी र कृषकहरुबीच सहमति भएको छ । यसअघि व्यवसायीले स्थानीय उत्पादनलाई भन्दा भारतीय उत्पादनलाई प्राथमिकता दिएको कृषकहरुको आरोप छ । स्थानीय उत्पादनलाई प्राथमिकता नदिएकै कारण चितवनको केराले बजार पाउन नसकेको उनीहरुको भनाई थियो ।

बैठकमा उद्योग बाणिज्य संघ चितवनका प्रथम उपाध्यक्ष राजु श्रेष्ठ, रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष ज्ञानवहादुर विशुराल, फलफुल तथा तरकारी महासंघका केन्द्रीय उपाध्यक्ष शालिग्राम घिमिरे, फलफुल तथा तरकारी संघ चितवनका अध्यक्ष थिरप्रसाद धिताल, कृषि विकास कार्यालय चितवनका प्रमुख सोमनाथ घिमिरे सहितको उपस्थिती थियो ।