– रबिना बोहरा
बागलुङ, ९ वैशाख । जिल्ला प्रशासन कार्यालय बागलुङमा चालु आर्थिक बर्ष ०७१/७२ को चैत मसान्तसम्म राहदानी दस्तुरबाटै २ करोड भन्दा बढी राजश्व रकम संकलन भएको छ ।
चैत मसान्तसम्मको कुल २ करोड ८८ लाख १ हजार ७ सय २५ रुपैयाँ राजश्व रकम मध्य राहदानी दस्तुरबाट मात्र २ करोड ८२ लाख ५५ हजार राजश्व संकलन भएको जिल्ला प्रशासन कार्यालय बागलुङले जनाएको छ ।
कार्यालयका लेखापाल युवराज उपाध्यायले दिएको जानकारी अनुसार सबैभन्दा बढी राहदानी दस्तुरबाट नै २ करोड ८२ लाख ५५ हजार रुपैयाँ, यस्तै संस्था दर्ता तथा नविकरण, हातहतियार दस्तुर, न्यायिक दस्तुर एवं अन्य प्रशासनिक दस्तुरबाट कुल ५ लाख ४६ हजार ७ सय २५ रुपैयाँ राजश्व संकलन भएको कार्यालयले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलले राहदानी लिनेहरुको संख्या बृद्धि भैरहेको भन्दै विगत दुई महिनादेखि बुर्तिबाङबाट राहदारी जारी भएकाले प्रशासन कार्यालयमा अहिले राहदानी दिनेको संख्यामा केहि कमी आएको बताउनुभयो ।
पछिल्लो समयमा युवाहरुमा बैदेशिक रोजगारमा जाने मोह बढिरहेको उहाको भनाई थियो । कसैले काम परेर वा कसैले राहदानी बनाएपछि काम लाग्छ भन्ने हिसाबले पहिले नै राहदानी बनाएर बस्ने प्रबृत्ति बढेको पौडेलले बताउनुभयो ।
गतबर्ष राहदानी तर्फ चैत्र मसान्तसम्म २ करोड ६२ लाख ४५ हजार रकम संकलन गरिएको थियो । यस्तै अन्यतर्फ ४ लाख ६७ हजार ८ सय ९० रुपैया गरि कुल २ करोड ६७ लाख १२ हजार ८ सय ९० संकलन भएको जिल्ला प्रशासन कार्यालय बागलुङले जनाएको छ । यस्तै, गतबर्ष नागरिकता लिनेहरुमा सबैभन्दा बढी पुरुषहरु नै रहेको खरिदार जगुलाल पाण्डेले बताउनुभयो ।
कार्यालयमार्फत हुने सेवा प्रवाहमा सेवाग्राहीलाई सहज रुपमा सेवा दिएको र पारदर्शी तवरले काम भैरहेको प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलको भनाई छ ।
















प्रतिक्रिया