काठमाडौँ, ८ वैशाख । अर्थमन्त्री डा रामशरण महतले आगामी आर्थिक वर्ष २०७२/७३ को बजेट सामाजिक न्यायमा आधारित विकासमुखी हुने बताउनुभएको छ ।
रिपोटर्स क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उहाँले विगतका वर्षमा जस्तै शिक्षा, पूर्वाधार र ऊर्जा क्षेत्रलाई नै केन्द्रित गरेर बजेट तयार गरिने जानकारी दिनुभयो ।
आगामी आवको बजेट समयमै ल्याउने तयारी भइरहेको उल्लेख गर्दै अर्थमन्त्री डा महतले बिहीबारबाटै संविधानसभा तथा संसद् चल्ने भएकाले सबै क्रियाकलापले गति लिने विश्वास व्यक्त गर्नुभयो ।
देशको अर्थतन्त्र सकारात्मक तवरले अगाडि बढिरहेको उल्लेख गर्दै उहाँले समृद्धिको बाटोमा जानका लागि सबै क्षेत्रको सहयोग आवश्यक पर्ने भएकाले त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो । आयात र निर्यातको अनुपात बिग्रिएका कारण अर्थतन्त्रमा नकारात्मक असर पर्दै आएको भन्दै अर्थमन्त्री डा महतले उत्पादनलाई वृद्धि गरेर प्रतिस्पर्धात्मक क्षमता विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।
देशमा लगानीको वातावरण सिर्जना गर्नु दोस्रो चरणको आर्थिक सुधारको मुख्य उद्देश्य भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “देशमा लगानीको वातावरण बनेको छ, यसलाई निरन्तर कायम राख्नका लागि राजनीतिमा सुधार गर्नुपर्छ ।”
उक्त अवसरमा आर्थिक पत्रकार गजेन्द्र बुढाथोकी, आर्थिक दैनिकका प्रल्हाद रिजाल, एबिसी टेलिजिनका संवाददाता आनन्द गुरुङ र हिमालयन टाइम्सका नकुल अर्याललाई सम्मान गरिएको थियो ।
















प्रतिक्रिया