जाजरकोट, ८ वैशाख । यहाँको टालेगाउँ गाविसमा बिरामीलाई स्वास्थ्य संस्थासम्म लाने मानिस नहुँदा बिरामी ओछ्यानमा थला परेको स्थानीयले बताएका छन् ।
एकै घरमा चार जनाभन्दा बढी मानिस बिरामी हुँदा उपचार गर्न स्वास्थ्य संस्था ल्याउन मुस्किल भएको हो । सोमबार र मङ्गलबार हेलिकप्टरमार्फत चिकित्सकको टोली टालेगाउँ गाविसस्थित शिविर चलाइएको स्वास्थ्यचौकीमा पुगेपछि उपचार गर्न आउनेको सङ्ख्या बढेको स्वास्थ्यकर्मीले बताएका छन् ।
स्वास्थ्यचौकी टालेगाउँमा सोमबार मात्रै १८१ जना, नायकवाडामा १५२ जना, अर्छानीमा ९२ जना बिरामीको उपचार भएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी कृष्णबहादुर खत्रीले जानकारी दिनुभयो ।
यहाँ आइतबार पनि धेरै बिरामीको उपचार भएको थियो । उपचार गराइरहेका बिरामीमध्ये सात जनाको अवस्था चिन्ताजनक रहेको टालेगाउँ स्वास्थ्य चौकी प्रमुख प्रेमा लामाले बताउनुभयो । बिरामीमध्ये टालेगाउँ गाविस– ७, ८ र ९ का बिरामी स्वास्थ्य संस्था ल्याउनमा समस्या भएको छ ।
यो स्थान स्वास्थ्य संस्थाभन्दा धेरै टाढा भएका कारण बिरामीलाई स्वास्थ्य शिविरसम्म बोकेर ल्याउनेसमेत कोही छैनन् । स्थानीय हिमाल सिंहका अनुसार घरमा बिरामी परेकाको अवस्था दयनीय हुँदै गएको छ ।
स्वास्थ्य चौकी टालेगाउँमा इञ्चार्ज लामाले दिएको जानकारी अनुसार ७, ८ र ९ नं वडामा शिविर चलाउने तयारी भइरहेको छ । जाजरकोट सदरमुकामबाट सोमबार हेलिकप्टरमार्फत औषधि र थप स्वास्थ्यकर्मी थपिएको छ ।
यहाँको स्वास्थ्य संस्थामा बिरामीको सङ्ख्या थेग्न नसकेका कारण बाहिर चौरमै राखेर उपचार भइरहेको लामाले बताउनुभयो । दिनरात उपचारमा खटिएका स्वास्थ्यकर्मीले जोखिम मोलेर उपचार सुरु गरे पनि राज्यका तर्फबाट सेवा सुविधा केही नभएको बताएका छन् ।
आइतबार सेनाको टोलीले स्वाइन फ्लु रोगको यकिन गर्न दोस्रो पटक ल्याबमा जाँचका लागि अर्छानी गाविसबाट ११ जना बिरामीको खकारको नमुना काठमाडाँैस्थित टेकु प्रयोगशालामा लगिएको छ । जिल्लाको पजारु, सक्ला र पैंक गाविसमा बिरामीको सङ्ख्यामा कमी आएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी कृष्णबहादुर खत्रीले जानकारी दिनुभयो ।
यस्तै, पजारुमा खटिएका पाटन अस्पतालका डा प्रनिलमान सिंह प्रधान, अर्छानीमा खटिएका चौरजहारी सामुदायिक अस्पतालका डा सुमन राई नेतृत्वको टोली र टालेगाउँमा खटिएका सेनाका डाक्टर डा प्रणय कार्की, सक्ला गाविसमा खटिएको विश्व स्वास्थ्य सङ्गठनका डा गुणनिधि शर्मालगायतका टोली बिरामी भएर सदरमुकाममा फर्किएका छन् ।
रोग प्रभावित क्षेत्रमा उपचारमा खटिएका स्वास्थ्यकर्मीको टोलीले हाल चार हजारभन्दा बढी बिरामीको उपचार गरेको सूचना अधिकारी खत्रीले बताउनुभयो । डा अच्यूत आचार्य र डा ज्ञानेन्द्र नेपालीले आइतबार हेलिकप्टरबाट नायकवाडा र रोकायगाउँको लिम्सामा पुगेर उपचार सुरु गरेका नायकवाडा उपस्वास्थ्य चौकी नायकवाडाका प्रमुख गणेश खड्काले जानकारी दिनुभयो ।
आइतबारदेखि जिल्लाको दशेरा, मजकोट र पजारुमा वीरअस्पतालबाट आएका डा दुर्गा ढुङ्गाना, डा कमलराज थापा, डा कल्याण सापकोटा खटेर उपचार गरिरहेका छन् । पैकमा डा राजेन्द्र जिसी, डा चन्द्र खड्का, डा लक्ष्मी पौडेल, डा विनोद शर्मा, डा भरत बोहरा र डा प्रेम चौधरी उपचारमा खटिनु भएको छ ।
त्यस्तै, आज बिहानैदेखि हेलिकप्टरमार्फत औषधि र डाक्टर पठाउने क्रम जारी रहेको छ । आज पठाएका डाक्टरमा सुभाष योगी, डा कृष्णचन्द्र अधिकारी, डा तिलचना पाण्डे, डा आशिष पौडेल, डा विजय सिंह र डा रमेश जिसी रहनु भएको छ । रासस












प्रतिक्रिया