काठमाडौं, ७ चैत । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विवादास्पद अभिव्यक्तिलाई लिएर गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा विरोध प्रदर्शन गरिएको छ ।
केही दिन अगाडी मात्रै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जर्मनी पुगेर बुद्ध जन्मेको देश भारत हो भन्दै भाषण गरेका थिए । लुम्बिनी स्थित लुम्बिनी कपिलवस्तु दिवस अभियानले सोमबार विज्ञप्ती जारी गर्दै मोदीको अभिव्यक्तिको विरोध गरेको हो ।
लुम्बिनी-कपिलवस्तु दिवस अभियान विश्व संयोजक रामकुमार श्रेष्ठद्धारा हस्ताक्षरित विज्ञप्तीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुद्ध जन्मभूमि लुम्बिनीबारे आफूले नेपालमा बोलेको कुरा नै सहि हो र अन्यत्र बोलेको गल्ती सच्याउन चाहन्छु भनी बक्तब्य दिन हामी बिनम्र आग्रह गर्दछौ । किनकि प्रजातन्त्रको एउटा आधारभूत बिशेषता भनेको सही जानकारी प्राप्त गर्न पाउने नागरिकीय अधिकार भएकोले प्रजातन्त्रको सबलिकरणको लागि पनि एउटा प्रजातान्त्रिक देशको सरकार प्रमुखको हैसियतले यस्तो गरिनु उपयुक्त देखिन्छ । भनिएको छ ।
अभियानका संयोजक रामकुमार श्रेष्ठका विभिन्न संगठनहरुले मोदीको अभिव्यक्ति तत्काल सच्याउनुपर्ने माग गर्दै प्रदर्शन समेत गरिएको थियो ।
पढ्नुस विज्ञप्ती जस्ताको तेस्तै :
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बिबादास्पद भनाइबारे प्रेस बिज्ञप्ति
नेपाल भ्रमणका क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीद्धारा करीब आठ महिना अघि नेपालको संविधानसभामा सम्बोधन गर्ने क्रममा “विश्वलाई चकित गर्ने बुद्ध जन्मेको देश”भनी नेपालको लुम्बिनीलाई बुद्धको जन्मथलोको रुपमा स्वीकारिएको सार्वजनिक सम्बोधनपस्चात भारतीय स्वतन्त्रता दिवसमा समेत नेपाललाई बुद्ध भूमिको रुपमा पुनस् परिचय दिए, तर जापान गएर कुरो फेरेका मोदीले राष्ट्र संघको सुरक्षा परिषदमा आफ्नो उम्मेदवारीको प्रचार प्रसारको क्रममा जर्मन र फ्रान्समा भने बुद्ध भारतमा पैदा भएको भनाइ राखे ।
प्रो कनिङ्घामको नेतृत्वमा यूनेस्कोको लुम्बिनीमा भैरहेको अत्याधुनिक अनुसन्धात्मक उत्खननले बुद्ध जन्म समयबारे नयाँ बैज्ञानिक तथ्य सार्वजनिक गरिसकेको छ र यस्लाई बिस्वकै ठूला अन्तराष्ट्रिय संचार माध्यमहरुले प्राथमिकतामा पारे भने न्यासनल जियोग्राफीले त डकुमेण्ट्री नै बनाउँदैछ । बुद्ध जन्मभूमि भएकै कारण राष्ट्र संघका पाँच महासचिबहरु र नोबेल शान्ति पुरस्कार बिजेताद्धय दलाई लामा र आङ साङ् सुचीले भ्रमण गरिसकेको, राष्ट्र संघ मार्फत नै दुई गुरु योजना तयार भैसकेको र बिस्व सम्पदा सूचिमा समाबेश गरिएको कारण बैज्ञानिक र पुरातात्विक तथ्यका आधारमा नेपालको लुम्बिनी नै बुद्ध जन्मस्थल भएकोमा सन्देह नहुँदा नहुँदै पनि छिमेकी देशको प्रधानमन्त्रीले बैज्ञानिक र पुरातात्विक तथ्यका बिपरित आँफैले बोलिसकेकै कुराको बिपरित यसरी बिरोधाभासपूर्ण कुरा बोल्नु अत्यन्तै अशोभनिय हो ।
एक्काईसौं शताब्दीको आजको इन्टरनेटको जमानामा नियतबस गलत जानकारी प्रबाह गर्नुले आफ्नैबारे अन्तराष्ट्रिय दृष्टिकोण नकारात्मक बन्ने भएकाले सत्यका पर्यायबाची बुद्धको जन्मस्थल विषयमा साँचो कुरा गरेर बुद्धप्रति साँचो अर्थमा आदर गर्नु नै उपयुक्त देखिन्छ । नेपालले त आखिर ढिलो चाँडो समस्या समाधान गर्ने नै भएकोले शक्तिसम्पन्न राष्ट्रको सूचिमा पर्न अग्रसर भारतले यस किसिमका समस्याका कारण विश्व रंगमन्चमा आफ्नो छबि धमिलिन नदिन समयमा नै अग्रसरता दर्शाउनु नेपालभन्दा भारतकै लागि बढी हितकर हुने देखिन्छ । एउटा शक्तिशाली देशको प्रधानमन्त्री भएको नाताले बारंबार बिरोधाभासपूर्ण भनाइ थोपरिदिनुको सट्टा सत्यलाई आत्मसात गरी महानबाणी बोलिदिनुस भनी आग्रह गर्न चाहन्छौं ।
अन्त्यमा, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुद्ध जन्मभूमि लुम्बिनीबारे आफूले नेपालमा बोलेको कुरा नै सहि हो र अन्यत्र बोलेको गल्ती सच्याउन चाहन्छु भनी बक्तब्य दिन हामी बिनम्र आग्रह गर्दछौ । किनकि प्रजातन्त्रको एउटा आधारभूत बिशेषता भनेको सही जानकारी प्राप्त गर्न पाउने नागरिकीय अधिकार भएकोले प्रजातन्त्रको सबलिकरणको लागि पनि एउटा प्रजातान्त्रिक देशको सरकार प्रमुखको हैसियतले यस्तो गरिनु उपयुक्त देखिन्छ ।
रामकुमार श्रेष्ठ
लुम्बिनी-कपिलवस्तु दिवस अभियान विश्व संयोजक
















प्रतिक्रिया