१ कार्तिक २०८३, शनिबार

तीन वर्षभित्र लामो दूरीमा सबै डिलक्स बस

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

busपोखरा, ७ वैशाख । पृथ्वी राजमार्ग बस सञ्चालक समितिले तीन वर्षभित्र लामो दूरीमा चल्ने सबै डिलक्स बस सञ्चालन गर्ने भएको छ ।

यात्रुलाई स्तरीय र गुणस्तरीय सेवा दिने उद्देश्यले उक्त योजना ल्याएको समितिका अध्यक्ष ऐनकुमार साहीले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

लामो दूरीमा चल्ने अहिले ७०० भन्दा बढी सवारी साधन रहेकामा ३०० वटालाई डिलक्स बस बनाइएको छ ।

समितिले तीन वर्षअघि पहिलोपटक २९ वटा डिलक्स बस सञ्चालन गरेको र अब क्रमशः पुराना गाडी विस्थापित गरी नयाँ सञ्चालनमा ल्याउने क्रम बढेको अध्यक्ष शाहीले बताउनुभयो ।

लामो दूरीअन्तर्गत पोखरा–महेन्द्रनगर र पोखरा–काँकडभिट्टासम्म बस सञ्चालनमा रहेका र समितिले १५ वर्षभन्दा अगाडिका सबै बस विस्थापित गरिसकेको छ ।

समितिले पहिलो चरणमा बुधबारबाट रात्रि सेवामा डिलक्स बस सञ्चालन गर्ने भएको छ । रात्रि बसमा पहिलोपटक वाइफाइ, एसी सेवासहित पर्यटकस्तरको सुविधा सम्पन्न बस सञ्चालन गर्न लागेको र एउटा बसमा रु ६० लाखभन्दा बढी लगानी हुने बताइएको छ । २० वटा डिलक्स बस सञ्चालनमा ल्याउँदा करिब रु १२ करोड लगानी थप हुनेछ ।

समितिले निकट भविष्यमा पोखराबाट वीरगन्ज, महेन्द्रनगर, दाङ, धनगढी, नेपालगन्जका लागि सञ्चालन भएका बसलाई पनि डिलक्स बनाइने छ । पृथ्वी राजमार्ग बस सञ्चालक समितिअन्तर्गत अहिले देशभर एक हजार २०० भन्दा बढी बस सञ्चालनमा रहेका छन् । रासस