काठमाडौँ, ७ वैशाख । गत चैत मसान्तसम्म ३२ लाख २० हजार ८९४ जनाले मेसिन रिडेवल पासपोर्ट (एमआरपी) लिएका छन् ।
विसं २०६७ पुस ११ गतेबाट सरकारले एमआरपी दिन सुरु गरेको थियो । २०७१ चैत मसान्तसम्म आइपुग्दा ३२ लाख २० हजार ८९४ जनाले एमआरपी लिएको राहदानी विभागका महानिर्देशक लोकबहादुर थापाले जानकारी दिनुभयो ।
जसमध्ये केन्द्रीय विभाग नारायणहिटीबाट १२ लाख ४३ हजार ३५, जिल्लाहरुबाट १६ लाख एक हजार ४६ र विदेशी कुटनीतिज्ञबाट ११ लाख २१ हजार ७७ जनाले एमआरपी लिएको थापाले बताउनुभयो ।
एमआरपी लिन सुरु भएको समयमा भीड हुने गरेको विभागमा अहिले सेवाको प्रभावकारीतासँगै भीड कम भएको छ ।
विभागका महानिर्देशक थापा भने पहिला पासपोर्ट भर्ने र लिने समय निश्चित दिन तोकिएकाले भीड भए पनि अहिले जुनसुकै बेला राहदानी दिने व्यवस्था मिलाएकाले भीडमा कमी आएको बताउनुहुन्छ ।
थापा भन्नुहुन्छ– ‘कसैको छुटेको वा बाहिरबाट आएको पासपोर्टलाई सेवाग्राहीलाई वितरण गर्न पहिले निश्चित दिन तोकिए पनि अहिले जुनबेला पनि दिने व्यवस्था मिलाइएकाले कमी आएको हो । उहाँले सरकारले १२ घन्टे सेवा दिएसँगै एमआरपी लिनेको भीडमा कम हुने गरेको बताउनुभयो ।
उहाँ भन्नुहुन्छ, ‘पहिले जिल्ला गाउँमा ढिला हुने गरेकाले केन्द्रबाट दैनिक चार हजारसम्म राहदानी दिने गरेका थियौँ अहिले जिल्ला र कुटनीतिक विभागबाट प्रभावकारी सेवा सुविधा दिएकाले दैनिक एक हजार ५०० जनालाई राहदानी दिने गरेकाले भीडमा कम आएको हो ।’
पहिले फर्म र तस्बिर नमिलेको व्यक्तिले एक हप्तापछि मात्र आफ्नो फर्म र तस्बिर नमिलेको थाहा पाउने गरे तापनि अहिले नमिलेका फर्मलाई तत्काल एसएमएस गरेरसमेत सेवाग्राहीलाई थाहा दिँदा सजिलो भएको उहाँ बताउनुहुन्छ ।
विभागले पहिले निश्चित समयसम्म फर्म बुझाउने समय तोके पनि अहिले जुनसुकै समयमा फर्म बुझाउने व्यवस्था मिलाएकाले भीड कम भएको विभागले जनाएको छ । रासस
















प्रतिक्रिया