२९ आश्विन २०८३, बिहिबार

एएफसी यू–१४ महिला फुटबल सोमबारदेखि हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

footballकाठमाडौँ, ५ वैशाख । नेपालमा पहिलोपटक आयोजना हुन लागेको ‘एएफसी यू–१४ महिला क्षेत्रीय च्याम्पियनसीप २०१५’ को सम्पूर्ण तयारी पूरा भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ ।

“हामीले प्रतियोगिता सुचारुरुपले सन्चालन गर्न आवश्यक सम्पूर्ण तयारी पूरा गरेका छौं”, आज यहाँ आयोजित पत्रकार सम्मेलनमा एन्फाका महासचिव धिरेन्द्र प्रधानले भन्नुभयो ।

सोमबारदेखि सुरु हुने प्रतियोगितामा दक्षिण तथा मध्य एसियाका सात राष्ट्रका टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । यसमा समूह ‘ए’मा आयोजक नेपालसहित इरान, माल्दिभ्स र श्रीलङ्का छन् भने समूह ‘बी’ मा भारत, भुटान र बङ्गलादेश रहेका छन् ।

राउण्ड रोविन लिगको आधारमा खेलाइने प्रतियोगितामा दुवै समूहबाट विजेता र उपविजेता भएका चार टोलीले सेमिफाइनलको स्थान सुरक्षित गर्नेछन् र सेमिफाइनलका दुई विजेताबीच बैशाख १२ गते फाइनल भिडन्त हुनेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला र लगनखेलमा रहेको नेपाली सेनाको सैनिक शारीरिक केन्द्रको खेल मैदानमा प्रतियोगिताका खेल हुनेछन् । उद्घाटन खेल बैशाख ७ गते दिनको १ बजे दशरथ रङ्गशालामा नेपाल र इरानबीच हुनेछ ।

प्रतियोगितामा सहभागी हुने अधिकांश टोली आजै नेपाल आइपुग्ने तथा बङ्गलादेशको टोली भोलि आउँने कार्यक्रम रहेको एन्फाले जनाएको छ ।

प्रतियोगिता सञ्चालनका लागि अनुमानित बजेट रु ७२ लाख लाग्ने र उक्त रकम एसियाली फुटबल महासङ्घ (एएफसी) ले व्यहोर्ने एन्फाले जानकारी दिएको छ ।

खेल हेर्नका लागि एन्फाले साधारणतर्फ रु ५० तथा विशिष्ट प्यारापिटमा रु १०० टिकट दर तोकेको छ ।

निःशुल्क क्रिकेट शिविर सम्पन्न

यसैबीच, नयाँ बानेश्वरस्थित अरुणदीप एकेडेमीले निःशुल्क क्रिकेट शिविर आज सम्पन्न गरेको छ ।

स्पोर्ट्स युनिभर्सको सहकार्यमा सञ्चालन गरिएको १५ दिने शिविरमा विभिन्न १० विद्यालयका १४ वर्षमुनिका २५ प्रशिक्षार्थीको सहभागिता रहेको अरुणदीपका प्रधानाध्यापक अनिल भट्टले जनाउनुभएको छ ।

राष्ट्रिय क्रिकेटर नरेश बुढाएरले सञ्चालन गरेको शिविरमा बलिङ प्रशिक्षण अर्का खेलाडी सोमपाल कामीले दिनु भएको थियो ।

समापनका अवसरमा बुढाएरले तालिम नियमित हुनुपर्नेमा जोड दिँदै भन्नुभयो, “शिविरमा सहभागीहरुमा क्रिकेट प्रतिभा रहेकोले अझ प्रस्फुटन गर्न यस्ता कार्यक्रम भैरहनुपर्छ ।”

प्रधानाध्यापक भट्टले तालिमले आगामी दिनमा पनि निरन्तरता पाउने बताउँदै विद्यालय क्रिकेटको माध्यमबाट राष्ट्रिय स्तरका क्रिकेट प्रतिभा जन्माउन शिविर सञ्चालन गरिएको बताउनुभयो । रासस