३० आश्विन २०८३, शुक्रबार

जाजरकोट र रुकुम सिमानाबाट सुशील सरकारलाई पत्र- कहिलेसम्म मरौं सरकार हामी यसरी ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mahesh-gautam-kc

सरकार !

मुटु दुखिरहेछ, पिरले होइन डरले । यो नै पहिलो होइन्, हाम्रो मुटु दुःखेको । हरबखत दुखिरहने यो मुटु र डराइरहने यो मनलाई थामथाम पार्दैछु अगतिलो बहाना बनाएर । मन सन्तुष्ट हुनेगरी थामथुम पार्न गतिलो बहाना पनि त हुनुपर्‍यो । आखाँअघि झलझली आउँछ, आज भन्दा पाँच बर्ष अघि जाजरकोट र रुकुम जिल्लामा फैलिएको झाडापखालाको प्रकोपले हाम्रै आफन्तहरुले ज्यान गुमाए । दुई–जना चार जनाले होइन्, सरकार तीन सय एकहत्तर जनाले ‘पानी–पानी’ भन्दै प्राण त्यागे त्यो बेलामा । पानीको थोपासम्म मुखमा चुहाइदिने कोही भएन, घर–घरमा लासको खात लाग्यो । गाँउमा मलामी पाइन छाडे । मलामी होस् पनि को ? सबैसंग यमलोकको निमन्त्रणा मात्र थियो । मरेकाहरुले मलामी पाएनन् बाँचेका हामीहरुका रुदाँ–रुदाँ आँखाबाट खस्ने आँशु सकिए । एकपल्ट कल्पना गर्दा पनि कहाली लागेर लागेर आउँछ, आङै सिरिंग भएर आउँछ ती दिनहरु । मर्न त सबैलाई पर्छ भनेर चित्त बुझाउने मृत्यु थिएन त्यो किनकी जीवनजलको पुरिया र सिटामोलको गोली नपाएर तड्पिदै मर्नुलाई पनि के मर्नैपर्ने मृत्यु मान्नु । तर मान्नैपर्‍यो यो मनलाई थामथुम पारियो । मर्नेहरुको ‘भागभोग यत्ति रैछ’ भनेर ।

पानीको थोपासम्म मुखमा चुहाइदिने कोही भएन, घर–घरमा लासको खात लाग्यो । गाँउमा मलामी पाइन छाडे । मलामी होस् पनि को ? सबैसंग यमलोकको निमन्त्रणा मात्र थियो । मरेकाहरुले मलामी पाएनन् बाँचेका हामीहरुका रुदाँ–रुदाँ आँखाबाट खस्ने आँशु सकिए । एकपल्ट कल्पना गर्दा पनि कहाली लागेर लागेर आउँछ ।

त्यो मात्र हो र सरकार ! हामी गरिबहरुलाई हरेकपटक मृत्युले पछ्याइरह्यो । दःखले अत्याइरह्यो । सिटामोलको काम सिस्नोले गर्दैन, नत्र हामी सिटामोलको सट्टा सिस्नो नै खान्थ्यौं । कम्तीमा औषधोपचार गराउँदागराउँदै प्राण गयो भनेर भन्न त पाइन्थ्यो । तर अहँ पाएनौं सरकार हामीले सिटामोल । साँच्चै पाएनौं । एक्काइसौं शताब्दी हो, सबै कुरा आधुनिक भैरहेको छ र अकालमा कसैलाई मर्नुपर्दैन भन्दै तारे होटेलमा डलरवालाहरुसँग नेपालको स्वास्थ्य अवस्थाको बारेमा पावर प्वाइन्टमा स्लाइडहरु प्रस्तुत गर्दा त विदेशीलाई ‘नेपालले प्रगति गरेछ’ लाग्ला । तर, नेपाल हेर्न काठमाडौं होइन, हाम्रो जस्तो जाजरकोट अनि रुकुम–रोल्पाका गाँउहरु पुग्नुपर्छ अनि देखिन्छ नेपालको साच्चैको चित्र । तर कोही आउँदैनन् हाम्रोतिर त । आउँछन् तर उही उनीहरु आफैले बनाएका योजनाको सूची बोकेर अनि दुई–चारवटा भेला बैठक गर्छन् । खाजा नास्ता खुवाउँछन् र हाम्रौ नाममा किर्ते गर्दै लाखौको बजेट ब्ययमा देखाएर नेपालगञ्ज, दाङ्ग र काठमाडौंमा सिसाको महल खडा गर्छन् । हाम्रा ‘समस्या निवारण भएको र जनताहरुमा भरपुर जनचेतना विकास भएको’ कागजी घोषणा गर्दै हिँड्ने विदेशी दलालका नोकर जस्तै देखिनेहरुले हाम्रो गास खोस्दैछन् । हामी अन्यायमा छौ सरकार । अब हजुर नै भन्नुस् सरकार हामी कहाँ जाउँ त न्याय माग्न ? फेरि न्याय माग्न त अन्यायमा परेको दसी चाहिने होला , मसँग त्यस्तो केही दसी–प्रमाण पनि छैन । म त देखिजान्ने र सुनिजान्ने मात्र हुँ । सबैले देख्ने गरी देखाउने कुनै स–प्रमाण म उपस्थित हुन सक्दिन ।

जिन्दगी साँच्चै ‘कर्कलाको पानी’ रैछ सरकार ! कर्कलाको पातमा होउन्जेलमात्रै टलक्क टल्किने, जब सानो पनि हावाको झोक्का आउँछ अनि पोखिने । साँच्चै हामीलाई पटक–पटक मृत्युले लखेटिरह्यो । हामी भागिरह्यौं तर अहँ मृत्युलाई जित्न हामी जस्ताका लागि सम्भव भएन । गएको मंसिरमा हाम्रै छरछिमेकी चढेको बस भेरीमा खस्यो । ‘ऐया’ पनि भन्न नपाएर पचासौ जनाले मर्नुपर्यो । गन्तव्यमा पगेर आफ्ना योजना अनि सपनाहरुलाई साकार बनाउने सबै कुरा भेरीमा डुबे कहिल्यै नफर्किने गरी । समयले बज्रपात बर्साइरह्यो, हामीले निर्लज्ज भएर खपिरह्यौं समयको बज्रपात । त्यो भन्दा अर्को बिकल्प पनि थिएन । के गर्नु सरकार हजुरहरु बस्नेतिर पो चार लेनको सड्क छ, पुल पुलेसा छन् र त यसरी अकालमा मर्नुपर्दैन । तर हाम्रो तिर एकोहोरो चल्ने कच्ची बाटो छ । हामी हिँड्ने बाटो त कच्ची छ, हाम्रा सपना पनि कहाँबाट पक्की होउन त । फेरिमा बस राखेर भेरी तर्नुपर्छ । बस सबै ठाउँ पनि त चल्दैन हिँडेर उकाली–ओराली गर्नुपर्छ । भीर–पाखापखेराहरुमा घाँस–दाउरा गर्नुपर्छ । घाँस काट्दा, दाउरा बोक्दा अलिकति पनि खुट्टा चिप्ले त्यही भीरबाट खसेर मर्नुपर्छ । कठै हाम्रो जिन्दगी ।

मैले अगाडि बताए नि सरकार ! हाम्रोमा बज्रपात परिरहन्छ बेलाबेलामा । भनेका बेला नुन त पाउँदैनन हाम्रो तिर, अनि आफै विचार गरिबक्योस हजुर नुन नपाइने ठाउँमा चामल पाइएला कि नपाइएला । दुई गास जुटाउन गाह्रो छ । गएको एक साता यता फेरि हाम्रा लागी अर्को डरले पाइला गाडेको छपल्ना घरे काका र वल्ना घरे काकी काम्दै–काम्दै मरे । काका र काकी दुईजना मात्र मरेनन्, सरकार अरु धेरै जना पनि मरिसके तड्पी–तड्पी । जिल्लाबाट केही सुकिलाहरु पनि आए तर अहँ केही पत्तो लाग्न सकेको छैन । यसरी किन मरिरहेकाछन् जाजरकोटबासीहरु । कतिले ‘हैजा आयो’ भने तर मलाई था छ, हामीलाई लिन, हामी दुःखी गरिबलाई लिन काल आएको छ । यो कालले अहिलेसम्म यी अक्षर लेखुन्जेलसम्म २१ जनालाई लिएर गैसक्यो अरु दर्जनौं विरामी परिरहेका छन् तर सरकार ! हजुरहरु कहाँ हुनुहुन्छ खै ? हजुरहरुका कहाँ यो खबर पुग्यो या पुगेन ? हामीलाई यो कालबाट बचाउनुस सरकार, हामीलाई बाँच्न मन छ । गएका धेरै चुनावमा हामीले भोट हालेर पठाएका छोटे राजाहरु पनि गाउँ आउदैनन्, कतातिर के गर्दैछन् कुन्नी ? कहिलेकाँही आउँछन् उही कच्ची सडकमा धुलो उडाउँदै अनि के–के पो हो भाषण दिएर सदरमुकामबाटै फर्कन्छन् । हामीसँग ती सुकिलाहरुको के नै लेनादेना भयो हामीलाई भेटिरहनुपर्ने ? अर्को चुनाबमा एक भोट माग्न आए भैगो क्यारे, अरुबेला त हामीलाई किन हेर्नुपर्‍यो र ! मलाई त आजकाल यस्तै लाग्न थालेको छ । झन् तयसपालीको यो जो महामारी फैलिएको छ, यसको त कुनै पहिचान नै भएको छैन । कठैबरा, अब फेरि कति जाजरकोटी अकालमा मर्नुपर्ने हो । ए सरकार ! हजुरलाई मेरो एउटै प्रश्न, ‘कहिलेसम्म मरौं सरकार हामी यसरी तड्पी–तड्पी के हाम्रो पीर र पीडाको निदान गर्ने कुनै ओखती छैन यो ब्रह्माण्डमा ?’ मनासिव जवाफ पाउँ सरकार ।

उही,
एक आम नागरिक
रुकुम र जाजरकोटको सिमानाबाट ।