३० आश्विन २०८३, शुक्रबार

सूर्यबहादुर थापालाई भुल्नै नसक्ने केही पलहरु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Surya-Bahadur-Thapa-smile

– हेमजङ गुरुङ

सूर्यबहादुर थापाको पत्नीको निधन भएको भर्खरै १६ दिनमात्रै भएको थियो । हामी २०५६ सालको निर्वाचनपछि पश्चिमाञ्चलस्तरीय समिक्षामा जुटेका थियौँ । कार्यक्रमको प्रमुख अतिथि, पार्टी अध्यक्ष सूर्यबहादुर थापा नै हुनुहुन्थ्यो । तर, उहाँलाई बोलाउने कि नबोलाउने भन्नेमा दोधारमा पर्‍यौँ  । कारण– भर्खरैमात्र आफ्नो जीवन संगिनी गुमाएका थापा बैठकमा आउलान् कि नआउलान भन्ने भयो ।

तर, पूर्वनिर्धारित कार्यक्रम भएकाले उहाँ आउनुभयो । हामी त दंग पर्‍यौँ । चुनावको समिक्षा गर्नुछ, त्यसमाथि नेताहरुसँग आक्रोश पनि पोख्नुपर्ने हुन्छ । शोकमा रहेका नेताहरुसँग गरी सबालजबाफ गर्ने ? सबैको मनमा एकैखाले प्रश्न थियो । तर, सूर्यबहादुर यसरी प्रस्तुत हुनुभयो कि उहाँको अनुहारमा पीडाको कुनै भाव नै थिएन, उहाँ खुलेरै प्रस्तुत भएपछि हामीले पनि दिनभर जमेरै छलफल गर्‍यौँ।

राति नेताहरुलाई पनि नाचगानमा सहभागी गराउने कार्यक्रम थियो । त्यसको चाँजोपाँजो स्थानीय पार्टी कमिटीले मिलाएको थियो । अब सूर्यबहादुरलाई नाच्नुस भन्ने कसरी ? तर, उहाँ आफै नाच्न अगाडि तम्सनुभयो । त्यसपछि त माहौल नै अर्कै भयो । शोकलाई समेत दबाउन सक्ने उहाँमा अचम्मको शक्ति देखेँ मैले त्यतिबेला ।

आफ्नो मनभित्रको दुःखलाई भित्रै दबाएर कार्यकर्तालाई उत्प्रेरित गर्ने अचम्मको जादू थियो, उहाँमा । मलाई अहिले पनि एकदमै सम्झना छ । पार्टीका अन्य कार्यक्रममा पनि जतिसुकै छलफल, अन्तरक्रिया, वादविवाद हुँदाहुँदै पनि अरुको कुरा ध्यान दिएर सुन्ने र एकदमै ‘बोल्ड डिसिजन’ दिने उहाँको एउटा क्षमता थियो ।

अझ समयको त त्यस्तै ख्याल गर्ने– पञ्चुअल । भेटघाट वा अन्य कार्यक्रममा अतिथि हुँदा ठ्याक्कै समयमा पुग्नुहुन्थ्यो । समयलाई असाध्यै चिन्ने ‘पञ्चुअल’ नेतृत्वको रुपमा आभास गरेका छौँ हामीले ।

हुन त म उहाँसँगको पहिलो भेटदेखि नै प्रभावित थिएँ । २०५१ साल असारमा हुनुपर्छ, मेरो उहाँसँग पहिलो औपचारिक भेट भएको । राजनीति सामिप्यता त्यतिबेलादेखि नै जोडिएको हो । जब तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले मध्यावधि निर्वाचन घोषणा गर्नुभयो । त्यसपछि लमजुङ जिल्ला क्षेत्र नम्बर १ बाट मध्यावधि निर्वाचनमा पार्टीले मलाई उठाउने निर्णय गर्‍यो । लमजुङका पार्टीका पूर्वसभापतिसहितको टोलीले मलाई तत्कालिन पार्टी अध्यक्ष सूर्यबहादुर थापालाई भेट्न ल्याउनुभयो । मैले ‘म चुनाव लड्दिन, भर्खर अध्ययन सकेर आएको, पेशागत काम पनि गरौं, केही अनुभव हुन्छ भन्ने सोचेको छु’ भनेँ । पार्टीले उठाएको अन्य उम्मेदवारलाई सहयोग गर्छु भनेर भनेको थिएँ । किनकी ४० वर्ष पुगेपछि मात्रै सक्रिय रुपमा राजनीतिमा आउने मेरो चाहना थियो । तर, उहाँले मान्नुभएन । ‘बहुदलीय व्यवस्थामा पार्टीले गरेको निर्णय तपाईंले मान्नुपर्छ, जिल्लाबाट यत्रा साथीहरुको सिफारिस नमानेर कहाँ हुन्छ ?’ भन्न थाल्नुभयो ।

‘हिजो पञ्चायत प्रणालीमा व्यक्तिगत निर्णयले पनि काम गथ्र्याे । तर अब बहुदलीय प्रणालीमा आइसकेपछि तपाईँले आफुले मात्रै यतिबेला गर्छु, यसरी गर्छु भन्नुहुन्न । पार्टीको निर्णयको कुरा हुन्छ । सबै नेता आएर तपाई हाम्रो पढे, लेखेको युवा नेता अनि राजनीतिक परिवारको पनि भनेर प्रस्ताव गरिसके । बहुदलीय प्रणालीमा पार्टीको निर्णयलाई तपाईंले स्वीकार गर्नुपर्छ’ यस्तै–यस्तै भन्दै उहाँले मलाई उम्मेदवार हुन उत्प्रेरित गर्नुभो । बहुदलीय प्रणाली र पार्टी सिस्टमको बारेमा ज्ञान दिनुभयो ।

२०५६ सालको आमनिर्वाचनको बेला पनि त्यस्तै पर्‍यो । त्यो बेलामा हाम्रो पार्टी दुई टुक्रा भएको थियो । संस्थापन (थापा) पक्षतिर हामी थियौँ, राप्रपा भनेर । अर्काेतिर लोकन्द्रबहादुर चन्द, राजेश्वर देवकोटाजीहरु राप्रपा राष्ट्रवादी भनेर एकथरी थिए । मैले त्यो बेलामा पनि यसपालि चुनाव जित्ने अवस्था छैन्, म बरु अन्य साथीलाई सहयोग गर्छु भनेँ । राजनीतिक, आर्थिक हिसाबले पनि उम्मेदवार बनिरहन गाह्रो छ भन्दा उहाँले मान्नुभएन ।

त्यो बेलामा तत्कालिन महामन्त्री तथा अहिलेका राप्रपा अध्यक्ष पशुपतिसम्सेर राणाले पनि तपाईँ उठ्नुपर्छ, भन्नुभयो । मैले अर्काे साथीलाई उम्मेदवार बनाउन खोजेपछि राणाले नै अध्यक्ष सूर्यबहादुर थापालाई भेट्न लिएर जानुभयो ।
उहाँले सबै कूरा बेलिविस्तार लगाएपछि अध्यक्षज्यूले फेरि त्यही कुरा भन्नुभयो । ‘पार्टीले गरेको निर्णयलाई मान्नुपर्छ । पार्टीको जिम्मेवारीलाई स्वीकार गर्नुपर्छ । तपाईँ जिम्मेवार कार्यकर्ता हो’ भन्नुभयो । र, उहाँकै प्रेरणाले २०५६ सालमा पनि पार्टीका तर्फबाट उम्मेदवार बनेको थिएँ । योबीचमा पनि उहाँको अभिभावकत्व मान्दै आएका थियौँ ।

यसपटक उपचारका लागि भारत जानुअघि उहाँसँग दुई–तीनपटक भेट भएको थियो । जन्मदिनको दिन बधाई दिन गएको थिएँ, भारत जानुअघि अन्तिम भेट चैत ११ गते भएको थियो । उहाँलाई त्यतिबेला रुघाखोकी लागेको थियो । ‘सञ्चो छैन’ भन्नुहुन्थ्यो । तर पनि मेरो छोटो भेटमा पार्टीको कार्यक्रमको बारेमा सल्लाह गर्दा उहाँले आफ्नो भित्रको रोगको पीडालाई चाँहि भित्रै दबाएर हामीलाई कार्यक्रमको बारेमा यसो–यसो गर्दा राम्रो हुन्छ, यसरी जानुपर्छ भन्ने जुन खालको निर्देशनात्मक सुझाव दिनुभयो । उहाँ यतिचाँडै हामीलाई छाडेर जानुहुन्न भन्ने मलाई लागेको थिएन् ।

उहाँ पार्टी एकताका लागि पनि खुबै अग्रसर हुनुहुन्थ्यो । राप्रपा र राप्रपा नेपालबीच एकताको प्रक्रिया अगाडि बढिराखेको थियो । यो पार्टी सशक्त प्रजातान्त्रिक पार्टी स्थापना गर्नुपर्छ भन्ने उहाँको चाहना थियो । राप्रपा नेपालका अध्यक्ष कमल थापालाई पनि उहाँले एकताका लागि छिटो पहल गर्न सुझाव दिनुभएको थियो ।

तर, उहाँको निधनले पार्टीलाई निकै ठूलो क्षति भएको महसुस गरेका छौं । उहाँ पार्टीको नेतृत्वबाट अभिभावकको रुपमा रुपान्तरण हुँदै जानु भाएको थियो । त्यति हुँदाहुँदै पनि पार्टीका तमाम कार्यकर्ताले ‘हाम्रो पूर्वअध्यक्ष, पूर्वप्रधानमन्त्रीले के भन्नुहुन्छ, के कुरा गर्नुहुन्छ’ भनेर उहाँको मुख हेर्ने स्थिति भइराखेको अवस्थामा अचानक उहाँ हामीलाई छाडेर जानुभो ।
यो अवस्थामा पक्कै पनि पार्टी अभिभावकविहीन हुने नै भयो । तर, हामी तमाम नेता, कार्यकर्ताले उहाँको त्यो जोश, जाँगर र नेतृत्वलाई सम्झेर शोकलाई शक्तिमा बदल्नुपर्छ । राप्रपालाई मात्र होइन, सम्पूर्ण देशवासीलाई नै थापाको निधनले शोकमा डुबाएको छ । भौतिक शरीर हाम्रोमाझमा नरहेपनि उहाँलाई सँधैसँधै सम्झिरहनेछौँ ।

(राप्रपा केन्द्रीय सहायक महामन्त्री गुरुङसँग दैनिक नेपालले गरेको कुराकानीमा आधारित)