३० आश्विन २०८३, शुक्रबार

कान्तिपुरमा एमाले समर्थितलाई छानी-छानी निष्काशन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kantipur

काठमाडौं, ४ बैशाख । कान्तिपुर मिडिया ग्रुपले एमाले समर्थित पत्रकारहरुको छानी-छानी जागिर खोस्न थालेको छ ।

आफूलाई निकै लोकतान्त्रिक मिडियाका रुपमा प्रस्तुत गर्ने गरेपनि कान्तिपुर ग्रुपले एमाले समर्थितलाई छानी-छानी निष्कासन गर्नुले उसको नियतमाथि नै प्रश्न उब्जिएको छ ।

स्थापनाकालदेखि नै कान्तिपुर टेलिभिजनको समाचार प्रमुख रहेका तीर्थ कोइरालालाई प्रमुखबाट हटाइएको छ । कोइराला एमालेसँग आस्थावान हुन् ।

कोइरालाको ठाउँमा दिलभिषण पाठक समाचार प्रमुख बनेका छन् । स्थापनाकालमा कान्तिपुर टेलिभिजनमा काम गरेर बाहिरिएका पाठक १२ बर्षमा फेरि कान्तिपुरमै फर्किएका हुन् । युवा पत्रकार पाठक कुशल पत्रकार मानिन्छन् । उनले न्यूज २४ मा ‘टफ टक’ नामक कार्यक्रम सञ्चालन गर्दै आएका थिए ।

पाठकको आगमन ठीक भएपनि वैचारिक आस्थाका कारण वरिष्ठ पत्रकार कोइरालालाई कान्तिपुरले अपमानित बनाउँदै जिम्मेवारी खोसेको विषयलाई लिएर यतिबेला एमाले नेताहरु समेत संकिशत भएको एमाले प्रचार विभागका एक सदस्यले बताए ।

‘बढुवा’ को बहाना बनाउँदै कान्तिपुर मिडिया ग्रुपले कोइरालालाई शक्तिशाली भूमिकाबाट हटाएर ‘केएमजी कर्पोरेट कम्सल्ट्याण्ट’ को जिम्मेवारी दिएको छ ।

कान्तिपुरले यसअघि पनि चिफ रिपोर्टर गोपाल खनाललाई जिम्मेवारीबाट हटाएको थियो । कान्तिपुरको भावी सम्पादकका रुपमा हेरिएका खनाललाई पनि कोइराला जसरी नै भूमिकाविहीन बनाउन खोजिएपछि उनले कान्तिपुर छाडेका थिए । प्रेस चौतारी निकट खनाललाई अर्कै आरोप लगाएपनि खासकारण भने एमालेसँग आस्था राख्नु नै हटाउनुको मुख्य कारण रहेको कान्तिपुरका पत्रकारहरु बताउँछन् ।

कोइराला र खनाल अहिलेसम्म कान्तिपुरको उच्च ओहोदामा पुगेका एमाले समर्थित पत्रकार हुन् । कान्तिपुरले आस्थाका आधारमा पत्रकारहरुमाथि विभेद गर्ने गरेको आरोपलाई कोइराला र खनालको बहिर्गमनले झनै पुष्टि गरिदिएको छ । वामपन्थी पत्रकारहरुप्रति अनुदार रहेको कान्तिपुरले प्रेस चौतारी र अन्य वामपन्थी पत्रकारहरुको संगठनमा रहेका पत्रकारहरुलाई विभेद गर्दै आएको छ । यतिसम्म कि जिल्ला समाचारदाता नियुक्त गर्ने बेलामा समेत क्षमतालाई भन्दा वैचारिक आस्थालाई प्रमुख रुपमा हेरिने गरेको पत्रकारहरु बताउँछन् ।

विभेदका कयौँ उदाहरण

यसअघि धादिङ समाचारदाताको नियुक्तिका लागि काठमाडौँ बोलाइएका धादिङका सक्रिय पत्रकार रामेश्वर कार्कीलाई प्रेस चौतारीको तत्कालिन जिल्ला अध्यक्ष भएकै कारण नियुक्ति दिनबाट रोकिएको थियो । ‘प्रेस चौतारीको जिल्ला अध्यक्ष छाड्न भनेपछि उनी ‘बरु कान्तिपुरको जागिर चाहिन्न, प्रेस चौतारी छाड्दिन’ भनेर हिँडेका थिए । कार्की अहिले नागरिकको जिल्ला समाचारदाता छन् ।

कान्तिपुर दैनिकको डेक्समा कार्यरत अखण्ड भण्डारीलाई पनि क्रियटिभ व्युरोको नाममा जिम्मेवारीविहीन बनाउन खोजिएको छ । डेक्समै रहेका बालकृष्ण बस्नेतलाई यसअघि नै डेक्सबाट तानेर रिपोर्टिङमा खटाइएको छ ।

वैचारिक विभेदकै कारण अहिले पनि कान्तिपुरको जिल्लादेखि केन्द्रमा कार्यरत एमालेसमर्थित पत्रकारहरु प्रेस चौतारीका पदाधिकारी तथा अन्य जिम्मेवारीमा बस्न डराउने गरेका छन् । प्रेस चौतारीमात्र होइन्, एमाओवादी निकट क्रान्तिकारी पत्रकार संघ लगायत अन्य वामपन्थी पत्रकार संगठनमा रहेका पत्रकारलाई सक्षम हुँदाहुँदै पनि कान्तिपुरले विभेद गर्ने गरेको पत्रकारहरुको गुनासो छ ।