– दीपक ओली
धनगढी, २ वैशाख । २५ वर्षीया पार्वती नेगीले बिगत तीन वर्षदेखि धनगढीको कभर्डहल अगाडी दुई जना मिलेर संयुक्त रूपमा ठेला ब्यवसाय सञ्चालन गर्दै आएकी छन् ।
बैतडीको मठेराज गाविस पुर्चौडीकी नेगी विवाह भएको केही वर्षपछि श्रीमानबाट तथा घरपरिवारबाट हिंसामा परेर बहिस्कृत भएकी हुन् । हिंसापछि ओरेक नेपाल धनगढीको पुनस्र्थापना गृहमा दुईपटक गरी १० महिना बसेकी थिईन् ।
पार्वती घर फर्कने अवस्था नभएपछि ओरेक नेपालले दिएको २० हजार रुपैयाँबाट ठेला ब्यवसायतिर लागिन् । उनीसँगै डोटी घर भई हाल अत्तरियामा बस्ने ललिता कापडी पनि घरेलु हिंसामा परेर ओरेकको शरणमा आएकी थिइन् ।
श्रीमान तथा घरपरिवारसँगै बस्ने वातावरण नभएपछि उनी ज्यान जोगाउन धनगढी आइपुगेको बताउँछिन । ओरेक नेपालले धेरै दिनसम्म राख्ने अवस्था नभएपछि उनलाई पनि ओरेकले ठेला ब्यवसाय गर्न २० हजार रुपैयाँ सहयोग गरेको थियो ।
ओरेक नेपालको पुनस्र्थापना गृहमा रहेकी पार्वती र ललिता हिंसामा परेर न्याय माग्न तथा ज्यान जोगाउन संघर्षरत थिईन् । ठाउँ र मान्छे फरक भए पनि एउटै प्रकृतिको हिंसा भोगेकी पार्वती र ललिताको पुनस्र्थापना गृहमा भेट भएपछि जीवनमा नहारेर केही गर्नुपर्छ, संघर्ष गर्नुपर्छ भन्ने सोच पलाएको बताइन् । यसकै परिणामस्वरुप दुवै जना ठेला व्यावसायीमा होमिए ।
तारानगरमा कोठा भाडा लिएर सँगै बस्ने उनीहरूले प्रत्येक दिन बिहान ठेला लिएर आठ बजे नै कभर्डहल अगाडी आइपुग्छन् । अनि, सधैं झैं शुरु हुन्छ चाउमिन, सीमी, समोसा, पकौडा बनाएर ग्राहकको प्रतिक्षा । तीन वर्षदेखि संयुक्त रूपमा ठेला ब्यावसाय गर्दै आएका उनीहरूलाई शुरुमा ओरेक नेपालले काठको सामान्य ठेला उपलब्ध गराएको थियो ।
त्यो ठेला उनीहरूले ओरेक नेपाललाई फिर्ता गरेर हाल क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले दिएको गुणस्तरीय ठेलामा स्ट्रीट फूड बनाउने गरेकी छन् ।
उनीहरू भन्छन्– विवाहपश्चात् राम्रोसग खानबस्न पाइएला भन्ने सोचेका थियौं, तर उल्टो भयो । अहिले ठेला ब्यावसायमा चित्त बुझाइरहेका छौं । उब उनीहरू दुवैमा अर्को विहे गर्ने वा पुरानै घरपरिवारसग बस्ने कुनै चाहना छैन । ‘अब बाचुञ्जेल हामी दिदीबहिनीसगै बसेर जीवन निर्वाह गर्ने प्रतिज्ञा गरेका छौं’ उनीहरूले समवेत स्वरमा भने ।
आफ्नो ठेलामा स्ट्रीट फूड खाने आउने ग्राहकको स्वास्थ्यको राम्रो हेक्का राखेर सरसफाई र खाद्य पदार्थ बनाउदा विशेष ध्यान दिने गरेको उनीहरूको भनाई छ । उनीहरूले आफूले बनाउने परिकारमा कुनै मिसावट नहुने दाबी गरेका छन् ।
पार्वती र ललिताले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयबाट कसरी परिकार बनाउने, खानेकुरामा के के हाल्नु हुदैन्, भाँडाकुँडा र ब्यक्तिगत सरसफाई, खाद्य ऐन नियमबारे तीनदिने तालिमका अतिरिक्त घरेलु तथा साना उद्योग कार्यालयीबाट भूजिया, पकौडा, चाउमिन, मःमः लगायतका परिकार बनाउने १० दिने तालिम पनि लिएकी छन् ।
सडक छेउमा ठेला व्यावसाय गर्दा घामपानीको समस्या त छदैछ, नजिकै सार्वजनिक शौचालय र पानी नहुँदा समस्या भइरहेको छ । पार्वतीले भनिन्– ‘लगानी भएको भए पक्की घरमै सटर भाडामा लिएर ब्यावसाय गर्ने चाहाना थियो, तर महंगी अचाक्ली छ’ उनीहरूले भने– ठेलामा दिनभरी बिक्री गरेको आम्दानीले खान बस्न नै ठीक्क हुन्छ ।
पार्वती र ललिता झैं २५ वर्षीया राजमती चौधरीले पनि ठेला व्यावसाय सञ्चालन गरेकी छिन् । उनी मुक्तकमैया हुन् । उनले धनगढीको कभर्डहल अगाडी चार वर्षदेखि ठेला ब्यावसाय गर्दै आएकी छन् । कैलालीको खैलाड गाविसकी उनी सरकारले कमैया मुक्तिको घोषणा गरेपछि साझबिहानको छाक टार्न श्रीमानसगै नौ वर्ष पहिले धनगढी आएकी हुन् ।
सुरुका दिनमा श्रीमान लाहुरामसँगै ज्याला मजदूरी काम गरेकी राजमतीले मजदूरीबाट आएको पैसाले खान बस्न तथा छोराछोरीको शिक्षादिक्षा खर्च नचल्ने भएपछि ठेला ब्यावसायमा लागेको बताइन् । एक छोरा एक छोरीकी आमा राजमतीले ठेला ब्यावसाय गर्न थालेपछि भने जीवन सहज बन्दै गएको बताइन् ।
सरकारले कमैया मुक्त भएपछि दिने भनिएको जग्गा तथा अन्य केही सुविधा समेत हालसम्म नपाएको बताउने राजमतीले ठेला ब्यवसाय गरी जम्मा गरेको पैसाले धनगढीको बैयाँबेहडीमा गत असारमा आधा कट्ठा घडेरी किनेकी छन् । छोराछोरीलाई निजि विद्यालयमा पढाइ रहेकी छन् । अहिले चार जनाको परिवार भाडामा बस्दै आएकी राजमतीले चाडै आफ्नै घर बनाएर बस्ने सोच बनाएको बताइन् ।
उनले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयबाट र घरेलु कार्यालयबाट परिकार बनाउने एवं कानुनी कुराबारे प्रशिक्षण लिएकी छन् । छोराछोरीलाई स्कुल पठाएर हरेक दिन बिहान ठेला लिएर कभर्डहल अगाडी आउने राजमतीलाई श्रीमान् लाहुरामले पनि आफूसँगै काम गरेर सहयोग गर्नेगरेको बताइन् ।
धनगढी नगरपालिका–१ शान्तिटोलकी ३० वर्षीया पार्वती चौधरीको बाल्यकाल अर्काको घरमा काम गर्दै बित्यो । १८ वर्षको उमेरसम्म कमलरीका रूपमा रहेकी उनले ठेला ब्यावसाय गर्न थालेको आठ वर्ष भयो । दुई छोरी र एक छोराकी आमा रहेकी पार्वतीले ठेला ब्यावसाय गर्न थालेपछि आफ्नो जीवनमा ठूलो परिवर्तन आएको बताईन् ।
श्रीमान् बलबहादुरको सहयोग र हौसलाबाट ठेला ब्यावसाय गर्न थालेको बताउने पार्वतीले ब्यक्तिगत रूपमा ३० हजार रुपैया लगानी गरेर गुणस्तरीय ठेला बनाएकी छन् । मिस्त्रीको काम गर्ने उनका श्रीमान् बलबहादुरले साँझबिहान ठेला पु¥याउने र पानी ल्याएर सहयोग गर्नेगरेका छन् ।
धनगढीस्थित सीप विकास केन्द्रबाट चियानास्ता बनाउने तालिम लिएर ठेला ब्यावसायमा लागेकी पार्वतीले ठेला ब्यावसाय गर्न थालेपछि पहिले पाएका दुःख भूलेर आजकाल जीवन निर्वाह सहज हुँदै गएकी बताइन् । उनले ठेला ब्यावसायबाट भएको आम्दानीले चार कोठाको घर समेत बनाएको बताइन् ।
उनका श्रीमान्ले मिस्त्री काम गर्छन् । ‘आफूले ठेलाबाट केही कमाउछु’ उनले भनिन्– दुबैको आम्दानीले खान लाउन र तीन छोराछोरीलाई शिक्षादिक्षा दिन पुगेको छ । ‘घरमा खाली बसेर समय बिताउनुभन्दा यो ब्यावसाय गर्नु उचित लाग्यो’ उनले भनिन्– दैनिक सबै खर्च कटाएर तीन सय रुपैया जति बचत हुन्छ ।
केही वर्षअघिसम्म चाट, पानीपुरी, बदाम, अण्डा आदि बिक्री गर्नेहरू प्रायः भारतीय नागरिक हुन्थे । अहिले यो व्यावसायमा नेपाली र खासगरी महिलाको सहभागिता बढेको छ । सरदर तीनदेखि पाच सय रुपैयासम्म कमाई हुने गरेको उनीहरू बताउछन् ।
आफूजस्ता घरजग्गा नभएका बिपन्नका लागि ठेलाको ब्यापार दैनिक गर्जो टार्ने भरपर्दो माध्यम बनेको उनीहरूको भनाई छ । नगरपालिका लगायतका निकायले ठेला ब्यावसाय गर्ने ठाउमा सार्वजनिक शौचालय र पानीको ब्यवस्था गरिदिए राम्रो हुने थियो ठेला ब्यवसायी राजमतीले भनिन् ।
सामान्य लगानी, सहज रुपमा तालिम, सानो लगानीमा छोटो समयमै राम्रो आम्दानी तथा खासै ठूलो चुनौति नभएकोले आफूजस्ता बिपन्न बर्गका महिलाहरू ठेला ब्यावसायतिर आर्कर्षित भएको पार्वतीको भनाई छ ।
ठेलामा खानेहरू प्रायःजसो निम्न आयस्रोत भएका र विद्यार्थीहरूको संख्या बढी हुने गरेको उनीहरूले बताए । थोरै पैसामा धेरै र राम्रो खानेकुरा पाइने भएकोले आफू जहिले पनि ठेलाकै नास्ता खाने गरेको फारवेष्ट टेक्निकल कलेजमा स्टाफ नर्स अध्ययन गरिहरेकी सुमीत्रा कडायतले बताइन् ।
बजारमा ठेला ब्यवसाय गर्ने संख्यामा दिनप्रतिदिन बढ्दो छ । उपभोक्ताको स्वास्थ्यलाई दृष्टिगत गरी आफूहरूले बेलाबेला ठेला ब्यावसायीहरुलाई खाद्य पदार्थमा हाल्ने रंग, ब्यक्तिगत र भाडाकुडाको सरसफाई एवं ब्यावस्थापन तथा खाद्य ऐन नियम बारे जानकारी गराई सजग गराउदै आएको क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य निरीक्षक गणेशदत्त जोशीले बताए ।
खाद्य निरीक्षक जोशीले धनगढी बजार क्षेत्रमा रहेका ठेला ब्यवसायीको खाद्य पदार्थ निरीक्षण र ठेलाको अनुगमन गर्दा हालसम्म कोही कारवाहीमा नपरेको बताए । ठेला ब्यावसायमा बिपन्न बर्गका महिला बढी आकर्षित भएकोले विश्व स्वास्थ्य संगठन, गुण नियन्त्रण विभाग लगायतका संघसंस्थाको सहयोगमा वर्षेनी केहीलाई गुणस्तरीय ठेला वितरण गर्नेगरेको उनले बताए ।
ठेला ब्यवसाय गर्न नगरपालिकाबाट अनुमतिपत्र लिनुपर्ने र नगरपालिकाले भनेको क्षेत्रमा बस्नुपर्ने प्रावधान छ । हाल धनगढीको बसपार्क, नगरपालिकाको अगाडी, कभर्डहल, वडा प्रहरी कार्यालय जाने बाटो, चटकपुर, चौराह, क्याम्पस चौक, पुरानो फूलबसपार्क, हुलाकी अगाडी लगायतका ठाउँमा ठेला राखी स्ट्रीट फूड सडकपेटीमा पकाउने खाद्य पदार्थ बनाउने ठेला ब्यवसायी रहेका छन् ।
हालसम्म नगरपालिकाबाट तीन सय ९७ जनाले ठेला ब्यावसाय गर्न अनुमति लिएको धनगढी नगरपालिका राजश्व फाँटका नायवसुब्बा मोहन खड्काले बताए । उनले यसमध्ये ९० प्रतिशतजति महिलाको संख्या रहेको बताए ।
सुरुमा ठेला ब्यवसाय गर्न प्रति ठेला ५० रुपैयाँ शुल्क तिरेर अनुमति प्रमाणप्रत्र लिनुपर्ने र त्यसपछि वार्षिक २५ रुपैयाँ तिरेर प्रमाण पत्र नविकरण गर्नुपर्ने बताउदै नायवसुब्बा खड्काले त्यसबाहेक प्रत्येक ठेलाले ब्यवसाय करवापत दैनिक छुट्टै १० तिर्नुपर्ने प्रावधान रहेको जानकारी दिए ।
















प्रतिक्रिया