– दीपक ओली
धनगढी, २ बैशाख । धनगढीका तीन जना पर्यटन व्यवसायीले पर्यटन क्षेत्रको प्रबद्र्धनका लागि दश वटा माउन्टेन साइकल ल्याएका छन् ।
पर्यटनको विकासका लागि सक्रिय धनगढीका तीन जना पर्यटन ब्यवसायीको पहलमा १० वटा माउन्टेन साइकल ल्याएका हुन् । ती साइकलको जेआइजेडका म्यान फोर्डले एक कार्यक्रमकाबीच धनगढीमा उद्घाटन गरे ।
उक्त माउन्टेन साइकल होटेल डिभोटीका कृष्णबहादुर महरा, एसएनएस होली डेजका सञ्जयकुमार चौधरी र साथी एड्भेन्चरका प्रमोद पाठकले पर्यटकका लागि माउन्टेन रेसमा प्रयोग हुने साइकल धनगढीमा ल्याएका हुन् ।
उद्घाटन कार्यक्रममा होटेल डिभोटीका प्रबन्ध निर्देशक तथा पर्यटन विकास समाजका अध्यक्ष कृष्णबहादुर महराले साइकलद्वारा यस क्षेत्रको पर्यटकीय क्षेत्र प्रचारप्रसार गर्न मद्दत पुग्ने बताए । उनले भाडामा साइकल पाए पछि पर्यटकहरु धनगढीको रमणिय क्षेत्र जोखरताल, मोहना करिडोर लगायतका ठाउँमा भ्रमण तथा अवलोकन गर्न सक्ने र यसबाट पर्यटन प्रबद्र्धन हुने बताए ।
पर्यटकीय सम्भावना थुप्रै भएपनि गतिविधिको अभावमा पर्यटन प्रबद्र्धन हुन नसकेको बताउँदै अध्यक्ष महराले यस गतिविधिले पर्यटकको यहाँ बसाई लम्ब्याउन सक्ने बताए । यसरी ल्याएका प्रतिसाइकलको मूल्य ४५ हजार रुपैयाँ रहेको छ ।
दश वटा मध्ये सात वटा सस्तो खाले र तीन वटा महंगो खाले साइकल छन् । सस्तो साइकलको प्रति साइकल एक घण्टाका लागि एक सय नेपाली रुपैयाँ र महंगो साइकलको प्रति साइकल एक घण्टाको लागि दुई सय नेपाली रुपैयाँ भाडा रहेको अध्यक्ष महराले बताए ।
महराले भाडाबाट उठेको रकमको १० प्रतिशत पर्यटन विकास समाजलाई सहयोग दिने बताए । यसअघि, होटल तथा पर्यटन व्यवसायीले बिलको एक प्रतिशत पर्यटन विकास समाजलाई दिंदै आएका छन् ।















प्रतिक्रिया