कञ्चनपुर, २ वैशाख । सङ्घीयताविरुद्धको तराई पहाड हिमाल जोडौँ अभियान आज कञ्चनपुरको महेन्द्रनगरबाट सुरु भएको छ ।
राष्ट्रिय जनमोर्चा नेपालको भ्रातृ सङ्गठन अखिल छैटौँले सुदूरपश्चिमाञ्चल विश्वविद्यालयबाट अभियान सुरु गरेको हो ।
तराईदेखि हिमालसम्मका बासिन्दाबीचको सद्भाव एकतालाई बलियो बनाई विखण्डनलाई परास्त गर्न अभियानको सुरुवात गरिएको अखिल छैटौँका महासचिव विमल पौडेलले बताउनुभयो ।
“राष्ट्रिय अखण्डता कायम गर्ने कार्यका लागि जनचेतना फैलाएर जनतालाई सचेत पार्न र सङ्घीयताविरुद्ध जनमत तयार गर्न अभियानको सुरुवात गरेका हौँ” उहाँले भन्नुभयो ।
अभियान कञ्चनपुरबाट सुरु भई कैलाली, डडेल्धुरा, बैतडी, डोटी, बझाङ, बाजुरा, अछाम हँुदै वैशाख १० गते दार्चुला पुगेर समापन गरिने छ ।
अभियानमा छ दर्जनभन्दा बढी विद्यार्थीको सहभागिता रहेको बताइएको छ । रासस















प्रतिक्रिया