काठमाडौँ, २ वैशाख । नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीबीच तीव्र विवाद भएपछि मंगलबारदेखि प्रमुख कार्यकारी अधिकृत (सिइओ)को पद रिक्त भएको छ ।
सिइओ भावना घिमिरेको ६ महिने परीक्षणकाल सोमबार नै सकिएको थियो। तर, सोमबार नै बसेको क्यान बोर्ड बैठकले घिमिरलाई न हटाउने निर्णय गर्यो न त समय थप्ने निर्णय। योसँगै क्यान पुन: विवादमा पर्ने देखिएको छ।
स्रोतका अनुसार बोर्डका केही पदाधिकारीले केही महिनाका लागि भावनालाई राख्नुपर्ने मत राखेका थिए । केही पदाधिकारी भने घिमिरेले आफूलाई नटेरेको, पदाधिकारीका विषयमा एसियाली क्रिकेट काउन्सिल एसिसी र अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीलाई कुरा लगाएको भन्दै रुष्ट देखिएका छन् ।
बोर्ड बैठकमा धेरै पदाधिकारीले हस्ताक्षर गर्न नमानेपछि लिखित निर्णय हुन नसकेको हो। बोर्ड बैठकले कार्य सम्पादनलाई यसबारे निर्णय गर्न निर्देशन दिएको छ। कार्य सम्पादन बैठक बुधबार बस्ने भनिए पनि सोही दिन क्यानमा सिइओ पद रिक्त भइसक्नेछ।
‘बैठकमा आवश्यक कोरम पनि पुगेको थियो । छलफलमात्र भयो तर निर्णय हुन सकेन’, क्यानका कार्यवाहक महासचिव उत्तम कर्माचार्यले भने ।
उनले आगामी बैठकमा यसबारे निर्णय हुने बताए । त्यसो भए बुधबारदेखि क्यानमा सिइओ पद रिक्त हुने भयो हैन ? भन्ने जिज्ञासामा कर्माचार्यले भने, ‘अर्को निर्णय नहुँदासम्म त्यस्तै हुन्छ होला।’
स्रोतका अनुसार बोर्ड बैठकमा केही पदाधिकारीले आइसिसीले समेत प्रशंसा गरेको भन्दै तत्काल भावनालाई पदबाट हटाउन नहुने अडान लिएका थिए। आजको अन्नपुर्ण पोष्टमा समाचार छ ।
















प्रतिक्रिया