नयाँ दिल्ली, १ वैशाख । भारतमा आतङ्कवादी हमलाको आशङ्कामा उच्च सतर्कता अपनाइएको समाचार छ । त्यस्तो आक्रमणको सूचनाको आधारमा सो सतर्कता अपनाइएको हो ।
भारतमा एक पाकिस्तानी आतङ्कवादी समूहले आक्रमण गर्ने आशङ्कासहितको सूचना बाहिर आएको भारतीय गुप्तचर निकायले जनाएको छ । सोही सूचनाको आधारमा भारतमा यस्तो सुरक्षा सतर्कता अपनाइएको एक समाचारमा जनाइएको छ ।
यस्तो सतर्कतासम्बन्धी सूचना विशेषगरी भारतीय सहर मुम्बईमा जारी गरिएको छ । पाकिस्तानी आतङ्कवादी समूह लस्कर ए तोएबाको हमलाको सूचना भारतीय गुप्तचर निकायले पाएको पनि सो समाचारमा उल्लेख गरिएको छ ।
उक्त सूचना स्रोतले भारतीय सहर मुम्बईमा विशेषगरी सो समूहले होटल, रेलमार्ग वा अरु कुनैपनि सार्वजनिक स्थलमा यस्तो हमलाको योजना बनाइरहेको पाइएको बताएको छ ।
सन् २००८ मा पनि सोही समूहको संयोजनमा मुम्बइको एक होटलमा यस्तो हमला भएको थियो । सो हमलामा परी दर्जनौँ व्यक्ति हताहत भएका थिए ।
त्यस्तै प्रकारको हमला यसपटक पनि हुनसक्ने भन्दै गुप्तचर निकायले दिएको सूचनाको आधारमा भारतीय सुरक्षा निकायले मुम्बइमा विशेषगरी यस्तो सूचना जारी गरेको हो ।
मुम्बईपछि सो सतर्कताको सूचना भारतका सबैजसो राज्यमा जारी गरिएको मङ्गलबार अपरान्हको एक समाचारमा भारतीय अधिकारीहरुले जनाएका छन् ।
पाकिस्तानी जेलमा रहेका लस्कर ए तोएबाका एकजना आतङ्कवादी नेता जाकिर उर रहमान लख्बीलाई पाकिस्तानी सरकारले रिहाई गरेपछि यस्तो सूचना भारतीय अधिकारीहरुले पाएको जनाएका छन् ।
उनलाई सन् २००८ मा भारतीय सहर मुम्बइमा गरिएको हमलामा सम्लग्न भएको अभियोगमा सन् २००९ मा पक्राउ गरिएको थियो । सो आक्रमणमा परी १७० जनाको ज्यान गएको थियो ।
उनलाई मुम्बई हमलाकोे एक प्रमुख सुत्राधारका रुपमा कारबाही गरिनुपर्ने माग भारतले गर्दै आएको छ । तर पनि पाकिस्तानले भने समय समयमा उनलाई प्रमाणको अभावको कारण देखाउँदै रिहा गर्दै आएको छ । रासस÷सिन्ह्वा















प्रतिक्रिया