पोखरा, १ वैशाख । नयाँ वर्ष २०७२ को सुरुबाटै पोखराको फेवातालमा केवलकार निर्माण थालिने भएको छ ।
पोखराको वसुन्धरापार्कदेखि फेवातालपारि रहेको पुम्दी–भुम्दीको कोदीडाँडामा रहेको विश्वशान्ति स्तूपसम्म पुग्ने गरी ‘चितवन कोइ’ कम्पनीले केवलकार निर्माण थाल्ने भएको हो ।
‘चितवन कोइ’ मनकामना केवलकार बनाएको सफल कम्पनी हो । यसले अस्ट्रियाको डोपेलमेयरको साझेदारीमा रु एक अर्ब ३० करोडको लागतमा केवलकार बनाउन लागेको हो ।
भौतिक योजना मन्त्रालयले ‘चितवन कोइ’लाई १ दशमलव ६ किलोमिटर लामो केवलकार निर्माणका लागि परियोजनाको विस्तृत सर्वेक्षण (डिपिआर) को स्वीकृति दिएपछि निर्माणले गति लिएको हो ।
“डिपिआर निर्माण गर्न स्वीकृति दिएपछि धमाधम काम भइरहेको छं”, मनकामना दर्शन प्रालिका कार्यकारी निर्देशक राजेशबाबु श्रेष्ठले भन्नुभयो, “दुई वर्षमा निर्माण गरिसक्ने योजना छ ।”
भौतिक योजना मन्त्रालयले चैत महिनामा नै ‘चितवन कोइ’लाई केवलकार बनाउने जिम्मा दिएको थियो । उसले दुई वर्ष अगाडि नै केवलकार बनाउने योजना अगाडि सारेको थियो । तर टेन्डरमा रहेको अर्को प्रतिस्पर्धी समूहले मुद्दा हालेपछि ढिलाई भएको हो । सर्वोच्चले रिट खारेज गरेपछि ‘चितवन कोइ’ले निर्माण प्रक्रिया अगाडि बढाएको निर्देशक श्रेष्ठले बताउनुभयो ।
केवलकार सार्वजनिक निजी साझेदारी (पिपिपी) र निर्माण, स्वामित्व, सञ्चालन र हस्तान्तरण (बुट) अवधारणामा बन्न लागेको हो । २० वर्षपछि केवलकार सरकारको स्वामित्वमा आउने गरी सम्झौता भएको छ ।
केवलकारका लागि सरकारले पोखरा उपत्यका नगर विकास समितिको मातहतमा रहेको वसुन्धरापार्कको १३३ रोपनी जग्गा उपलब्ध गराएको छ । जग्गा पनि समितिकै स्वामित्वमा रहने छ । सो क्षेत्रमा वाटरपार्क, मनोरञ्जनात्मक क्षेत्र तथा शान्तिस्तूप क्षेत्रमा स्टेसन र रेस्टुराँ बन्ने छन् ।
यसैबीच, प्रत्यक्ष लाभान्वित हुने तालपारिका पुम्दी–भुम्दीका बासिन्दाले केवलकार निर्माणमा सघाउन सबै पोखरेलीसँग आग्रह गरेका छन् । वसुन्धरा पार्कलाई पार्ककै रुपमा राख्नुपर्ने र सो जग्गा निजी क्षेत्रलाई दिन नहुने भन्दै केही व्यक्तिले विरोध गरेपछि स्थानियले त्यसो नगर्न आग्रह गरेका हुन् । रासस















प्रतिक्रिया