४ कार्तिक २०८३, बुधबार

आठ जिल्लाका प्रजिअ र सुरक्षा अधिकारीको भेला सम्पन्न

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, १ वैशाख । महिलामाथि हुने हिंसा न्यूनीकरण र मानवअधिकारसम्बन्धी मध्यक्षेत्रका आठ जिल्लाका प्रमुख जिल्ला अधिकरी तथा सुरक्षा अधिकारीबीच चितवनमा भएको दुईदिने भेला सोमबार सम्पन्न भएको छ ।

गृहसचिव सूर्यप्रसाद सिलवालको उपस्थितिमा चितवनको भरतपुरमा आइतबारदेखि सुरु भएको भेलाले महिलाविरुद्ध हुने हिंसा तथा मानवअधिकारको सवालमा गम्भीर भएर अघि बढ्ने निष्कर्ष निकालेको चितवनका प्रमुख जिल्ला अधिकारी डा मानबहादुर विकेले जानकारी दिनुभयो ।

उहाँका अनुसार राष्ट्रिय कार्ययोजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्दै अघि बढ्ने भेलाले निष्कर्ष निकालेको छ । हिंसाका घटनामा पुरुष पनि प्रभावित हुन सक्ने, मानवअधिकारका विषयमा संवेदनशील भएर काम गर्ने, हिंसाविरुद्ध कडाइका साथ लाग्नेलगायत भेलाले निष्कर्ष निकालेको डा विकेले बताउनुभयो ।

सो क्रममा गृहसचिव सिलवालले महिला हिंसा न्यूनीकरणमा कडाइका साथ लाग्न सुरक्षा अधिकारी र प्रजिअलाई निर्देशन दिँदै अहिलेको अवस्थामा सरकारी निकाय चनाखो भई यसतर्फ केन्द्रित भई गम्भीर हुनसमेत आग्रह गर्नुभयो ।

भेलामा महिला हिंसा न्यूनीकरणका लागि प्रशासन र सुरक्षा अधिकारीले अपनाउने भूमिकाका साथै मानवअधिकारका विषयमा बनेका अन्तर्राष्ट्रिय सन्धि सम्झौताका विषयमा समेत छलफल भएको भयो ।
चितवनका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक सहकुलबहादुर थापाले हिंसा न्यूनीकरणका विषयमा प्रशासन र सुरक्षा अधिकारी जिम्मेवार हुने, सक्रियता बढाउने र आफ्नो जिम्मेवारीलाई कडाइका साथ बहन गर्ने विषयमा छलफल भएको बताउनुभयो ।
भेलामा प्रधानमन्त्री कार्यालयका सहसचिव रमेश ढकाल, गृह मन्त्रालयका सहसचिव धनराज ज्ञवाली, आठै जिल्लाका प्रमुख जिल्ला अधिकारी, उच्चस्तरका सुरक्षा अधिकारीसमेतको सहभागिता रहेको थियो । सो क्रममा प्रजिअले आ–आफ्नो जिल्लामा भए गरेका गतिविधिका बारेमा गृहसचिवलाई जानकारी गराउनुभएको थियो ।