भीमदत्तनगर, ३० चैत । आज बिहान ८ बजे प्रकाशित भएको परीक्षाफलको नतिजा लिएर घर फर्किएका दार्चुलाका चार बालिकाले महाकाली नदीमा हामफालेका छन् ।
दार्चुलाका दत्तु गाविस–४ मा रहेको राष्ट्रिय उच्च माविमा अध्ययनरत चार बालिकाले महाकालीमा हामफालेका हुन् ।
उनीहरुले सामूहिकरुपमा महाकालीमा हामफालेको राष्ट्रिय उच्च माविका प्राचार्य राजेश सिंह सामन्तले जानकारी दिनुभयो । हामफालेर महाकालीमा बेपत्ता हुनेमा दत्तु गाविस–२ का कक्षा ७ मा अध्ययनरत ममता चुनारा, कक्षा–७ मै अध्ययनरत १४ वर्षीय पूजा कोली, कक्षा ६ मा अध्ययनरत १२ वर्षीया नितु लोहार र कक्षा ६ मा अध्ययनरत १३ वर्षीया ममता चुनारा रहेका छन् ।
विद्यालयका प्राचार्य सामन्तले दिएको जानकारीअनुसार हामफालेकामध्ये कक्षा ६ मा अध्ययनरत १२ वर्षीया ममता चुनारा द्वितीय श्रेणीमा पास भएकी थिइन् । उनले जम्मा ४३२ अङ्क ल्याएको प्राचार्य सामन्तले बताउनुभयो ।
त्यसैगरी ६ कक्षामा अध्ययनरत नितु लुहार ३३१ अङ्कसहित अनुत्तीर्ण, ७ मा अध्ययरनत ममता चुनारा ३३९ अङ्कसहित अनुत्तीर्ण र ७ मै अध्ययनरत पूजा कोली ३५९ अङ्क ल्याएर अनुत्तीर्ण भएको सामन्तको भनाइ छ ।
अनुत्तीर्ण भएका नितुलाई पाँच विषय, ममता र पूजालाई चार÷चार विषय लागेको उहाँले बताउनुभयो । “१ कक्षादेखि ९ सम्मको परीक्षाफल प्रकाशित गरेका थियौँ ।” प्राचार्य सामन्तले भन्नुभयो– “जसमा १८९ जनाको परीक्षाफल प्रकाशित भएको थियो ।” ‘चारजना बिहान स्कुल आएर लब्धाङ्कपत्र लिएर गएका हुन् ।”
उहाँले भन्नुभयो– “हामफाल्नुका खास कारण भने पृष्टि हुनसकेको छैन ।” उहाँले परीक्षामा अनुत्तीर्ण भएका कारण हामफालेको हुनसक्ने अड्लन गर्नुभयो । उनीहरुले हाम फालेको स्थान स्कुलभन्दा ४०० मिटर मात्रै टाढा रहेको छ ।
त्यसैगरी दार्चुलाका निमित्त जिल्ला शिक्षा अधिकारी नरेन्द्रसिंह ठगुन्नाले पनि हामफाल्नुको कारण पुष्टि हुन नसकेको बताउनुभयो । त्यसैगरी बालिकाहरुसँगै रहेकी १३ वर्षीया कमला डाँगीले उनीहरुले एउटै पछ्याँैरीमा बाँधिएर महाकालीमा हाम फालेपछि घटनाबारे थाहा भएको हो ।
बालिकाहरुको खोजी कार्यमा अहिले जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली महाकालीमा खटिएको छ । सशस्त्र प्रहरी टोलीका प्रहरी निरीक्षक देवसिंह ठगुन्नाले आफूहरु दत्तुबाट खोजी गर्दै जोलजिबीसम्म पुगेको बताउनुभयो ।
“अहिलेसम्म बालिकाहरु भेटिएका छैनन्” सशस्त्र प्रहरी निरीक्षक ठगुन्नाले भन्नुभयो– “बेत भन्ने ठाउँमा दुईवटा बालिकाको शव भेटियो भन्ने अपुष्ट खबर आएको छ ।” “हामी अहिले बेततर्फ खोजी गर्दै जाँदैछौँ” उहाँले भन्नुभयो ।















प्रतिक्रिया