– सुदीप अधिकारी
बर्दिया, २९ चैत । टोलैपिच्छे खुलेका सहकारी संस्थाहरु सदस्यमुखी नभएको गुनासो बढ्दै गएपछि अहिले बर्दियाका सहकारी संस्थाहरु एकीकरणको अभियानमा जुटेका छन् ।
समान उदेश्यका साथ खोलिएका बचत तथा ऋण सहकारी संस्थाहरुले सदस्यमुखी सेवालाई प्रभावकारी तथा सक्षम सहकारी बनाउन यतीखेर एकीकरण अभियान थालेको बताएका छन् ।
जिल्लाको बग्नाहा, नेउलापुर, शिवपुर र ठाकुरद्धारा क्षेत्रका बचत तथा ऋण सहकारी संस्थाहरुले एकीकरण अभियानको सुरुवात गरेका छन् । एकीकरणका सम्वन्धमा छलफल गर्न सहज होस् भनेर यी चार गाविसमा छरिएर रहेका बचत तथा ऋण सहकारी संस्थाहरुको सहकारी समन्वय समिति बनाएर अघि बढेका छन् । यस क्षेत्रमा करिव ३० भन्दा बढी बचत तथा ऋण सहकारी संस्था छन् ।
एकीकरणको पहलकदमी नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफस्कुन)ले गरेको छ । नेफस्कुनकै पहल सहकारी समन्वय समितिले पहिलो चरणमा एकीकरणका आवश्यक्ता र महत्व सम्वन्धी बृहत अन्तरक्रिया गोष्ठि समेत सम्पन्न गरेको छ ।
वडा पिच्छे खुलेका सहकारी संस्थाहरुलाई दिगो र व्यवस्थितरुपमा संचालान गर्न गाह्रो हुँदै गएको महशुस गरी एकीकरण अभियानमा लागेको सहकारी समन्वय समितिका संयोजक नारायण अधिकारीले बताए । उनले भने, ‘सहकारीमार्फत समुदायलाई सर्वसुलभ वित्तिय सेवा प्रदान गर्न अब सहकारी संस्थाहरु एकिकरण हुनै पर्छ । ’
छ्याप्छ्याप्ती खुलेका सहकारी संस्थाहरुले सदस्यलाई सर्वसुलभ वित्तीय सेवा प्रदान गर्न नसकेको बताउँदै सहकारीकर्मीहरुले एकिकरणको आवश्यक्तालाई सहजरुपमा स्वीकारेको बताए ।
समान हैसिएतको बचत तथा ऋण सहकारी संस्थाले एकिकरणको प्रस्ताव ल्याए आफु र आफनो संस्था एकिकरणका तयार रहेको प्रगती बचत तथा ऋण सहकारी संस्था बग्नाहाका अध्यक्ष सुर्य खत्रीले बताए ।
सहकारी समन्वय समितिकै अगुवाईमा यस क्षेत्रका सहकारी संस्थाहरुले एकीकरण भइसकेका काभ्रे, दोलखालगाएतका जिल्लामा रहेका बचत तथा ऋण सहकारी संस्थाहरुको अध्ययन् अवलोकन भ्रमणसमेत गरेका छन् । एकिकरणमा जाने इच्छुक संस्थाहरु बिच निरन्तर संवादसमेत जारी राख्ने प्रतिवद्धता जनाएका छन् ।
एकीकरणको पहलकदमी गरीरहेको नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ नेफस्कुनका संचालक सदस्य दामोदर अधिकारीले नेपालमा बढ्दो सहकारीहरुको संख्यात्मक अवस्थालाई गुणात्मक बनाउन एकिकरण अपरिहार्य भएको बताए ।
उनले भने, ‘सहकारी संस्थालाई नीति, नियम र प्रविधीबाट संचालन गरी उच्चस्तरिय मानव संसाधन विकास, संचालनमा कुशलता ल्याउँदै नेपालका सहकारी संस्थालाई अन्तराष्ट्रिय मापदण्डमा पुर्याउन पनि सहकारी संस्थाहरु बीच एकीकरण आवश्यक छ । ’















प्रतिक्रिया