बागलुङ, २९ चैत । संविधानसभा उपनिर्वाचनको अघिल्लो दिन पक्राउ परेका आफ्ना कार्यकर्तालाई रिहाईको माग गर्दै जिल्ला प्रहरी कार्यालय बागलुङ पुगेका एमाले कार्यकर्ताहरुलाई प्रहरीले लाठीचार्ज गर्दा एक दर्जन भन्दा बढी घाइते भएका छन् ।
प्रहरीको लाठीचार्जबाट बागलुङ नगरपालिका वडा नम्बर १ रामरेखाका देवबहादुर बोहरा गम्भिर घाइते भएका छन् । घाइते बोहराको बागलुङमा उपचार हुन नसकेपछि शनिबार रातिनै पोखरा रिफर गरिएको छ । बोहराको टाउकोमा गम्भीर चोट लागेको छ ।
यस्तै प्रहरीको लाठीबाट नेकपा एमाले बागलुङका सचिवालय सदस्य गणेश थापा मगरको खुट्टामा, डिल्लीराज गौतमको निधारमा, क्षेत्रीय सदस्य सम्पन्न श्रेष्ठको ढाड, खुट्टा र हातमा चोट लागेको छ । अन्य दर्जनौं कार्यकर्ताहरु घाइते भएको नेकपा एमालेका बैकल्पिक केन्द्रीय सदस्य गोविन्द नेपालीले बताए ।

निर्वाचनलाई प्रभावित पार्नेगरी आफ्ना निर्दोष कार्यकर्ताहरुलाई पक्राउ गरेको भन्दै एमाले कार्यकर्ताहरुले शनिबार साँझदेखिनै जिल्ला प्रहरी कार्यालय अगाडि पुगेका थिए । रिहाईको माग गर्दै नारा लगाउँदा जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव निरिक्षक शैलेन्द्र खडकाले सांघातिक आक्रमण गरेको नेकपा एमालेका बैकल्पीक केन्द्रीय सदस्य नेपालीले बताए । मदिरामा लठ्ठ रहेका खड्काले आफ्ना कार्यकर्तामाथि जथाभाबी लाठी प्रहार गरेको उनको भनाइ छ ।
निर्वाचनको अघिल्लो दिन दलित बस्तीमा पैसा बाँड्दै गरेको अवस्थामा भेटिएका काँग्रेस कार्यकर्ता रामजी नेपालीलाई कुटपिट गरेको आरोपमा प्रहरीले बानपा १ का युवाहरुलाई पक्राउ गरेको थियो । रामरेखा निम्न माध्यामिक विद्यालय केन्द्रमा मत राख्न गएका रामरेखाका स्थानियलाई रामजीलाई कुटेको भन्दै प्रहरीले प्रकाउ गर्ने थालेपछि मतदान प्रक्रिया केही समय प्रभावित बनेको थियो । रामजीलाई कुटेको भन्दै नेकपा एमालेका कार्यकर्ता टक बोहरा, कर्ण बोहरा, विदुर बोहरा र पप्पु बोहरा गरी ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
उता नेकपा एमालेले भने नेपाली काँग्रेसले दलित बस्तीमा पैसा बाँडेको सूचना पाएर गएका आफ्ना कार्यक्रर्तासँग सामान्य विवाद भएपछि भाग्दा लडेर चोट लागेका रामजीको विषयलाई लिएर प्रहरीले निर्वाचनमा शक्ति परिचालन गरि नेकपा एमालेमा आस्था राख्ने मतदाताप्रति आतङक फैलाएर निर्दोष कार्यक्रर्तालाई पक्राउ गरेको आरोप लगाएको छ ।
बागलुङ जिल्लाको सम्पूर्ण सुरक्षाको जिम्मा पाएा प्रमुख जिल्ला अधिकारी, डिएसपी सबैका अगाडि आफ्ना निर्दोष कार्यक्रर्तालाई प्रहरी नायव निरिक्षक खडकाले लाठी चार्ज गरेर टाउको फुटाएको र एमालेका कार्यकर्ता दीपेन्द्र बास्कोटालाई नियन्त्रणमा लिई हिरासतमा राखेकाले आफ्ना सबै कार्यक्रर्तालाई रिहा नगरेसम्म मतगणना प्रक्रियामा सहभागी नहुने नेकपा एमालेका बैकल्पिक केन्द्रीय सदस्य बताए ।













प्रतिक्रिया