काठमाडौं, चैत २८ । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले समाज सुधारको क्षेत्रमा नेपालका लायन्स क्लबहरुको भूमिका उल्लेखनीय भएको बताउनु भएको छ ।
शनिवार जोरपाटी लायन्स एकेडेमीको अभिभावक दिवस तथा खेलकुद मैदान शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले नेपालका लायन्स क्लबहरुको भूमिको प्रशंसा गर्नु भएको हो ।
शिक्षा, स्वास्थ्य जस्ता महत्वपुर्ण क्षेत्रमा राज्यले गर्न नसकेको काम लायन्स क्लबहरुले गरिरहेको पौडेलको भनाइ थियो । बेग्लै प्रसंगमा उहाँले मुलुकले अब छिट्टै नयाँ संविधान पाउने भन्दै सहमतिको नाममा कुनै दल विशेषलाई पर्खन नसकिने बताउनुभयो ।
क्षेत्र नम्बर तीनका सभासद रामेश्वर फुयाँलले विपन्न वर्गका बालबालिकालाई सस्तो शुल्कमा पढाएर जोरपाटी लायन्स एकेडेमीले उदाहरणीय कार्य गरेको बताउनुभयो । पुर्व सभासद् चक्रबहादुर ठकुरीले लायन्स एकेडेमीको स्तरोन्नतीका लागि आफु सधै सक्रिय रहने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा जोरपाटी लायन्स एकेडेमीको स्तरोन्नतिका लागि विभिन्न किसिमले सहयोग गर्ने व्यक्तित्व तथा संस्थालाई सम्मान गरिएको थियो । एकेडेमीको सहयोगार्थ गत माघ १ गते भएको सांस्कृतिक कार्यक्रमबाट संकलन गरिएको २ लाख १८ हजार रुपैयाको चेक कार्यक्रम संयोजक आनन्द बरालले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनप्रसाद लामिछानेलाई हस्तान्तरण गर्नुभयो ।
प्राञ्जली कार्पेटको तर्फबाट एकेडेमीलाई प्रदान गरिएको २५ हजार रुपैया पनि अध्यक्ष लामिछानेलाई हस्तान्तरण गरियो । नेपालमा लायन्स क्लबहरुको भूमिकालाई अझ शशक्त पार्न भुमिका निर्वाह गर्नु भएका पुर्व गभर्नर रामबहादुर श्रेष्ठलाई कार्यक्रममा विशेष सम्मान गरिएको थियो ।
कार्यक्रममा अग्रज लायन्सहरु सुनिल भक्त श्रेष्ठ, टंकबहादुर श्रेष्ठ, दीपक सिंह भण्डारी, सरला सुवाल, चामुण्डा उच्च माविका प्राचार्य यादवप्रसाद पौडेल लगायतले एकेडेमीको उज्जवल भविष्यको कामना गर्नु भएको थियो । त्यस्तै एकेडेमीका छात्र छात्राहरुले आर्कषक गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।















प्रतिक्रिया